म्याग्दीको सदरमुकाम बेनीबजारमा खानेपानी वितरण गरिरहेको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा मासिक १ सय जनाले डिजिटल पेमेन्टबाट खानेपानीको बिल भुक्तानी गदैं आइरहेका छन् । शुक्रबार सम्पन्न संस्थाको २० औ बार्षिक साधारणसभामा प्रस्तुत प्रगति प्रतिवेदनमा डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दै आएको कम्पनी ई–सेवामार्फत शुल्क तिर्ने ग्राहकको संख्या बढेको उल्लेख छ ।

नियमित शुल्क तिर्न कार्यालयमा जाने सेवाग्राहीले ई–सेवाको प्रयोग गर्न थालेपछि कार्यालयमा भीड समेत घट्दै गएको जनाइएको छ ।पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीमा छिटो, छरितो र सरल ढंगले प्रयोग गर्न सकिने ई–सेवा अनलाइन पेमेन्टको प्रयोग ह्वात्तै बढेको छ । खानेपानी, विद्युत, टेलिफोनको बिल, मोवाईलमा रिचार्ज,इन्टरनेट बिल, डिसहोम रिचार्ज, कोरला बस र हवाई जहाज टिकटका लागि प्रयोेग गर्ने गरेका छन्।

सरकारी तथा निजी संस्थामा सेवा लिन लामो समयसम्म लाइनमा बस्नुपर्ने सेवाग्राहीले ई–सेवामार्फत भुक्तानीमा आर्कषित भएको बेनीको ई–सेवा जोन लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक नेत्रराज सुबेदीले बताए ।
‘दैनिकजसो सेवाग्राही आउने गरेका छन्,‘सेवा प्रवाहबाट सन्तुष्ट छन्’ सुबेदीले भने । उनका अनुसार सहकारीमार्फत हालसम्म ब्यवसायीक सेवाग्राही ४० जना रहेका छन भने सहकारीमार्फत विभिन्न सेवा लिनेको संख्या करिव डेढ सय रहेको बताए ।

उनका अनुसार मासिक करिव ८ देखि १० लाखको कारोबार हुने गरेकोमा अधिकांस मोबाइल रिचार्ज, विद्युत र खानेपानीको भुक्तानी रहेको बताए । सहकारीमार्फत ई–सेवाको खातामा समेत रकम जम्मा गर्न मिल्ने बताए । मोबाइल रिचार्ज गर्दास्क्रयाच गरेर पिन नम्बर लगाउने झन्झटबाट सेवाग्राहीलाई ई–सेवाले सहज भएको छ । इ–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट र समयको बचत हुने भएकाले प्रयोग गर्ने गरेको बेनीका डिजी प्रिन्टका सञ्चालक भिमनाथ शर्माले बताए ।

‘मोवाईलबाटै सेवा लिन सकिन्छ,‘ब्यवसायीक काममा निकै सजिलो भएको छ’ शर्माले भने । उनले व्यालेन्स रिचार्ज गरे सयमा सय व्यालेन्स ट्रान्सफर हुने गरेकोमा इ–सेवाबाट रिचार्ज गरे ९७ रुपैयाँमा सय रुपैयाँको व्यालेन्स ट्रान्सफर हुने बताए। इ–सेवालाई जिल्लामा प्रभावकारी बनाउन आधिकारिक प्रतिनिधिले समेत विभिन्न तालिम दिने गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीसँगै सहायक बजारहरुम समेत प्रयोगकर्ता थपिदै गइरहेका छन् । उपभोक्तालाई रजिष्टे«सन गर्न पनि शुल्क लाग्दैन । इसेवाका सम्पूर्ण सुविधा निःशुल्क छन् ।