पानीको अभावमा पोखरीका १ हजार माछा मरे

0

बेनी नगरपालिका–२ बगरफाँटमा ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’को पोखरीमा पानीको अभाव भएपछि १ हजार बढि माछा मरेका छन् ।  विभिन्न क्षेत्रमा संलग्न ६ जना व्यक्तिहरुको ११ लाख रुपैयाँ लगानीमा शुरु गरिएको कृषि उत्पादन केन्द्रमा तरकारी खेतीका साथै माछा पालन गरिएको थियो ।७ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेति र माछा पालन सुरु गरेका व्यवसायीहरु सफा पानीको अभावमा विक्रिका लागि तयार हुँदै गरेका माछा मरेपछि चिन्तित बनेका छन् ।

सफा पानीको अभावमा अक्सिजन कम भएपछि माछा मरेका कृषि प्राविधिकलाई उद्घृत गर्दै संचालक क्या.मीनवहादुर कार्कीले बताए ।क्या.मीनवहादुर कार्की, गणेश केसी, जगत बानियाँ, कृष्टी बानियाँ, मनोज कार्की लगाएतका व्यक्तिहरुले सामुहिक रुपमा आग्र्यानिक तरकारी खेतीका साथै माछा पालन गरेका हुन् ।

‘‘हामी अहिले फरक फरक क्षेत्रमा क्रियाशिल युवाहरु मिलेर कृषिमा हात हालेका हौँ,बजारमा विषादी युक्त तरकारीको विकल्पमा हामीले विषादीरहित आग्र्यानिक तरकारी बेच्दै आएका छौं’’ युवा कृषक मनोज कार्कीले बताए । ‘कृषिमा सम्भावना देखेरै लगानी गरेका छौँ, अहिले सुरुवात चरणमा छाँै,बजारमा हाम्रो उत्पादन खोसाखोस हुन्छ, यो व्यवसायलाई विस्तार गर्दै जाने हाम्रो योजना छ’’– कार्कीले भने ।

म्याग्दी खोलाको किनारमा रहेको जग्गालाई १५ बर्षसम्मको लागि भाडामा लिएका युवाहरुले गोलभेडा खेतिको लागि ४ वटा टनेल निर्माण गरेर गोलभेडा,खुर्सानी लगाएतका तरकारी लगाएका छन् । टनेलमा लगाएका गोलभेंडा विक्रि गरेर एक सिजनमा ४ लाख रुपैयाँ आम्दानी भएको कृषक कार्कीले बताए ।तरकारी खेतीमा हाईटेक प्रविधिको उपयोग गरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने योजना रहेको उनकोे भनाइ थियो ।

तरकारी खेतीमा थोपा सिचाई र प्लाष्टिक छापाको प्रविधि प्रयोग गरिएको छ । तरकारी खेती संगै माछापालन, फुलखेती, कुखुरापालन समेत शुरु गरेको अर्का कृषक जगत बानियाँले जानकारी दिए । कृषि प्राविधिक समेत रहेका बानियाँका अनुसार, भाडामा लिईएको जग्गालाई घेराबार गर्ने , माछापालन र कुखुरापालनको लागि थप पोखरी र खोर निर्माणको पूर्वाधार निर्माण गर्न लागिएको छ ।

सो कृषि उत्पादन केन्द्रमा अहिले नियमित २ देखि ४ जनाले रोजगारिको समेत अवसर पाएका छन् । सदरमुकाम बेनीदेखि नजिकै सञ्चालन गरिएको कृषि उत्पादन केन्द्रबाट उत्पादन हुने कृषि उपजलाई बजारीकरणको समस्या नरहेकाले युवाहरुले सुरु गरेको कृषि खेती सफल हुन कृषि उत्पादन केन्द्रका संचालक समेत रहनुभएका स्थानीय अगुवा क्याप्टेन मिनबहादुर कार्कीले बताए ।

यस केन्द्रलाई कृषि उपज उत्पादनसंगै कृषक पाठशालाको रुपमा समेत विकास गर्ने योजना रहेको लगानीकर्ताहरुको भनाई छ ।कृषि पेशामा युवाहरुको आकर्षण बढाउनको लागि आफुहरुको कृषि उत्पादन केन्द्रलाई पाठशालाको रुपमा विकास गर्ने योजना बनाएको कृषक एवम् कृषि प्राविधिक बानियाँले बताए । उनले कृषि उत्पादन केन्द्रमा नयाँ अभ्यासको रुपमा मानव मुत्रलाई समेत मलको रुपमा प्रयोग गर्ने तयारी गरिएको जानकारी दिए ।

Leave a Reply