गोपाल आचार्य/ताकम म्याग्दीको धवलागिरी गाउपालिका–७, ताकममा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसीले उद्घाटन गदै ग्रामिण क्षेत्रमा लुकेका प्रतिभाहरुको उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले खेलकुदसँगै आवश्यक पूर्वाधार निर्माणमा समेत जोड दिदैं खेलकुद मनोरञ्जनको लागि नभई स्वास्थ्य जीवन र राष्ट्रका लागि समेत आवश्यक रहेको बताए । सोही अवसरमा गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले गाउँपालिका भित्रका खेल प्रतिभालाई आवश्यक सहयोग गर्ने बताईन् ।

उनले पूर्वाधारसँगै खेलकुद गतिविधिलाई विद्यालयभित्र तथा अन्तर विद्यालयस्तरीय प्रतियोगितालाई समेत प्रोत्साहन गर्ने बताउँदै राष्ट्रियस्तरका खेलमा सहभागी हुन जाने खेलाडीलाई आवश्यक सहयोग गर्ने बताईन् । कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, शिक्षक महासंघका जिल्ला अध्यक्ष जयराम सुवेदी,नेकपाका गाउपालिका अध्यक्ष खुमनाथ सुवेदी र नेपाली काग्रेसका प्रतिनिधि तेजिन्द्र थापाले मन्तब्य मन्तब्य राखेका थिए ।

गाउँपालिका भित्रका १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, एथलेटिक्स विधाका २८ वटा खेल हुने गाउँपालिकाका शिक्षा संयोजक गिरीप्रसाद छन्त्यालले जानकारी दिए ।उनका अनुसार उद्घाटन खेलमा १५ सय मिटर दौडको छात्रछात्रा दुवै तर्फ ताकम माविले विजय सुरुवात गरेको छ ।ताकम माविका छात्रतर्फ ताकम माविका विकास भण्डारीले स्वर्ण, धनजनता माविका बुद्धिमान विकले रजत र किसानी मावि धारापानीका मोहन हर्मेलले काँस्य पद जितेका थिए ।

छात्रातर्फ ताकम माविकी मनिषा केसी प्रथम, धनजनता माविकी तिर्सना पाण्डे द्धितिय र गुर्जाको जनकल्याण माविकी सिमा छन्त्याल तृतीय भएका छन् । प्रतियोगितामा सहभागी हुन आउने खेलाडी, शिक्षकलाई ताकमका आमा समुह, यूवा क्लवले भब्य स्वागत तथा निशुल्का खाना बस्नेको सुविधा मिलाएका छन् ।

आगामी पुष २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश ५० हजार, ३० हजार, २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गतबर्ष वडा नं ३ फलियाँगाउँ मुनामा अवस्थित धनजनता मावि प्रथम भएको थियो । म्याग्दीमा पालिकास्तरीय प्रतियोगिता सकिएपछि जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिन्छ । वि.स.२०६५ साल सम्म यस खेलकुद प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रूपमा आयोजना गर्ने गरिएपनि वि.स.२०६६ साल देखि राष्ट्रपति कप सुरु गरिएको हो ।