काठमाडौंबाट श्रीमान खोज्दै इटहरी आएकी एक महिला जवरजस्ती करणीको शिकार भएकी छिन् । एक सातादेखि पूर्वका बिभिन्न स्थानमा श्रीमान खोजीमा भौतारिएकी ३२ बर्षीया महिलालाई आइतबार दिउसो सुनसरी मोरङको सिमामा पर्ने बुढी खोलामा जवरजस्ती लगी दुईजनाको समूहबाट करणीको शिकार बनेकी हुन् ।

उनलाई इटहरी ६ बस्ने सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९ बस्ने सन्दिप चौधरीले जवरजस्ती सिटिमा हालेर बुढी खोला नजिक रहेको गोकुलम पार्क पछाडी एकान्त स्थानमा जवरजस्ती गरेको अबस्थामा स्थानियले फेला पारेका थिए । स्थानियको सहयोगमा घटनास्थलबाटै दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पकलीमा एक दिदिको शरणमा रहेकी ति महिला आइतबार दिउसो श्रीमान खोज्न इटहरी आएकी थिईन् । सोही क्रममा सिटिमा चढेर बिराटनगर लाईन हिडेकी महिलालाई सिटि चालक नरेशले फोन गरेर अर्काे सन्दिपलाई पनि बोलाएर जवरजस्ती बुढी खोला लागेको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।

‘हामीले सिटि सहित दुवैलाई घटनास्थलबाटै नियन्त्रणमा लिएका छौ’ श्रेष्ठले भने ‘दुबैजनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको अबस्था छ ।’महिला आफ्नो वेपत्ता श्रीमान खोज्न इटहरी आएको अबस्थामा सिटि चालकले ‘मद्धत गर्ने’ वहानामा महिलाको करणी गरिएको उनले बताए । Source: अपराध न्यूज