म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने उद्देश्यसहित म्याग्दीमा माघेसङ्क्रान्ति मेला सुरू भएको छ । परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि मंगलबारदेखि सुरू भएको मेलाको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गर्नुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा खुल्लामञ्चमा आयोजित मेलामा संविधान सभाका सदस्य गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, बेनी नगरपालिका–८, अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचाय, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, मगर संघ म्याग्दीकी अध्यक्ष डकमायाँ पाईजा लगायतले मन्तब्य राख्नुभएको थियो ।

महिलाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, जिल्लाका सरकारी निकायका प्रमुखहरुले बेवास्ता गरेजस्तो देखिएको भन्दै असन्तुष्ट समेत पोखिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी, विभिन्न संघसंस्थामा प्रमुख एवम् प्रतिनिधिको उपस्थिती रहेको थियो । मेलाको अवसरमा नेपाल भ्रमण वर्ष–२०२० लाई म्याग्दीमा स्वागत समेत गरिएको थियो । मेलाको अवसरमा बेनीबजारमा जातजातिको झाँकी प्रर्दशन सहित परिक्रममा गरिएको थियो ।

मेलामा बेनपा–४, राक्सेका महिलाको पञ्चेबाजा प्रमुख आकर्षणका रुपमा रहेको थियो ।मेलामा खुल्ला एकल लोकनृत्य तथा नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी खुल्ला लोकगीत प्रतियोगिता, खुल्ला अन्धनिसान, महिला÷पुरुष छेलो फ्याँक्ने, महिला÷पुरुष लठो तान्ने प्रतियोगिता पनि आयोजना गरिएको मूल संयोजक महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताउनुभयो ।

लोकनृत्यमा चार समुहको सहभागिता रहेको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजना गरिएको मेला दुईदिनसम्म सञ्चालन हुने छ ।

मेलाको अवसरमा विभिन्न क्षेत्रमा सफल महिला उद्यमीलाई सम्मान गरिएको थियो । महिला उद्यम विकास समितिका महासचिव विष्णु गुरुङ, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले सञ्चालन र समापन प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी कार्कीले गर्नुभएको थियो । मेला भोली अर्थात माघ १ गते समापन गरिने छ ।