गोपाल आचार्य/ धवलागिरी गाउपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा वडा नं ३ मा अवस्थित धनजनता मावि फलियागाउँ मुना प्रथम भएको छ । मगलबार सम्पन्न भएको प्रतियोगितामा छात्रछात्रा भलिबलको उपाधी सहित सर्वाधिक पदक जित्दै गतबर्षको विजेता समेत रहेको धनजनता माविले १० स्वर्ण, ५ रजत, ४ काँस्य पदक जितेको छ।

त्यस्तै दोस्रो ताकम माविले ६ स्वर्ण, ५ रजत, ४ काँस्य पदक र किसानी मावि धारापानीले ६ स्वर्ण पदक, १ रजत र ३ काँस्य पदक जितेको छ । गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा छात्रछात्रा भलिबल तर्फ दुवै धनजनता माविले कब्जा गरेको छ । छात्रतर्फ जनजागृति मावि मल्कवाङ र जनविकास मावि तृतिय भएको छ । त्यस्तै छात्रातर्फ धनजनता मावि, द्धितिय लम्सुङ, तृतिय जनकल्याण मावि गुर्जा भएको छ ।

विजेतालाई प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले पुरस्कार वितरण गर्नुभएको थियो । समापन कार्यक्रमको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताले गाउँपालिका भित्रका खेल प्रतिभाको उजागरमा सहज भएको बताइएको थियो । गाउँपालिका भित्रका १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, एथलेटिक्स विधाका २८ वटा खेल भएको गाउँपालिकाका शिक्षा संयोजक गिरीप्रसाद छन्त्यालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश ५० हजार, ३० हजार, २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।