नेपाल आयल निगमले पछिल्लो एक महिनामा पेट्रोलियम पदार्थमा ३ पटक मूल्य बढाएर करीब १ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अन्तर्राष्ट्रिय बजारभाउअनुसार इन्धनको मूल्य समायोजन गर्ने भन्दै निगमले मंसिर १६ देखि पुस १६ गतेसम्म ३ पटक मूल्य बढाइसकेको छ ।मंसिर मध्यदेखि पुससम्म निगमले ९८ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अन्तर्राष्ट्रिय बजारभन्दा चर्काे मूल्य कायम गरेर निगमले नाफा कमाएको हो ।

निगमले गत आर्थिक वर्ष मात्र ४ अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो । ११ अर्ब चुक्ता पूँजी भएको निगमले उक्त नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको छ । साथै, ४ करोड रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याइएको छ । निगमले लाभांश र बोनस वितरण गर्ने विषयमा अर्थ मन्त्रालयसँग सहमति मागेको छ । निगमले ५ वर्षअघि स्वचालित मूल्य प्रणालीको शुरूआत गरेको थियो ।

 

आयल निगमले दशैंतिहारको बिदापछि १६ मंसिरमा मूल्यवृद्धि गरेको थियो । दशैंतिहार र त्यसपछिका केही दिन अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपनि मंसिर पहिलो साताबाट मूल्य ओरालो लाग्न थालेको थियो तर निगमले आईओसी (भारतीय आयल निगम) बाट खरिद मूल्य बढेर आएको भन्दै पेट्रोल, डिजेल–मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । यसरी मूल्यवृद्धि गर्दा निगमलाई १५ दिनमा ३३ करोड २४ लाख रुपैयाँ नाफा भएको हो ।

निगमले पुस १६ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो । यसरी गरिएको मूल्यवृद्धिबाट पुस मसान्तसम्ममा निगमले करकट्टीपछि ३० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।आयल निगमको मंगलवार सम्पन्न वार्षिक साधारणसभाले शेयरधनीलाई २० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ । निगममा सरकार र सरकारी निकायको शतप्रतिशत शेयर छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।