गोपाल आचार्य/ धवलागिरी गाउँपालिका–१, गूर्जामा अवस्थित जनकल्याण माविकी विद्यार्थी सिमा छन्त्याल गत शनिबार विहान ६ बजे गाउँबाट खेल खेल्न हिउँ पन्छाएर बाटो खुलाउँदै शिक्षक र साथीहरुसँग हतार–हतारमा दिउँसो ३ बजे ताकम आइपुगिन् ।

लुलाङ र गुर्जाको सिमानामा पर्ने देउराली लगायत आसपासका जंगलमा हिउँ जमेर हिँड्न नसक्ने भएपछि पन्छाउँदै जोखिम मोलेर ताकममा पुग्दा वित्तिकै अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको पहिलो उद्घाटन खेलको १५ सय मिटर दौडमा काँस्य पदक जितिन् ।

करिव दश घण्टाको यात्रापछि खेलमा सहभागी भएकी सिमाले विद्यालयलाई पहिलो पदक दिलाउँदै मेडल र प्रमाणपत्र प्राप्त गरेसँगै हिउँलाई काट्दै ट्याक बनाएर खेलमा सहभागी हुन आएका विद्यालयका खेलाडीमा ऊर्जा थपिन् । सिमाजस्तै चेतकुमारी छन्त्यालले प्रतियोगितामा विद्यालयलाई स्वर्ण पदक दिलाउँदै स्वर्णपदक विहिन विद्यालयको सूचीबाट हटाउन सफल भईन् ।

उनले सटफुट छात्रातर्फ स्वर्ण मात्रै जितिनन् छात्रा भलिबलमा समेत विद्यालयलाई तेस्रो स्थान हात पादैं काँस्य पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन् । गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा हिमपातका कारण हायलकायल भएका विद्यार्थीले १ स्वर्ण, १ रजत र ४ काँस्य पदक जित्दै दश वटा विद्यालयमा पदक तालिकामा छैठौ स्थान सुरक्षित गरेका छन् ।

प्रतियोगितामा रिले दौडमा ज्ञानदेवी विक समुहले रजत, हाईजपमा ज्ञानदेवी विक, ३ हजार मिटर दौडमा समेत ज्ञानदेवीले विद्यालयलाई काँस्य पदक जिताउन सफल भईन् । विना अभ्यास विद्यालयको प्रतिनिधित्व गदैं आएकी विकले गाउँबाट खेलमैदानसम्म आउँदा बाटोमा खेप्नुपरेको सास्तीले समेत खेलमा अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको विद्यालयका प्रधानाध्यापक रुपेश सुबेदीले बताए ।

उनका अनुसार विद्यार्थीले लामो पैदलयात्रा र आवश्यक आराम गर्न नपाउँदा स्वर्ण पदक जित्ने खेलाडी काँस्यमा सिमित हुन परेको बताए। छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा सहभागी भएका गूर्जाका विद्यार्थीले प्रयाप्त अभ्यासको वातावरण पाएमा गाउँपालिकाबाटै खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्न सक्ने वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । उनका अनुसार विद्यार्थीलाई समय तथा तालिमको अवसर पाएमा प्रतियोगिता भित्र तोकिएका २८ वटा खेलमै सहभागी बनाउन सकिने बताए। प्रतियोगितामा गाउपालिकाका अध्यक्ष थमसरा पुनले राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीलाई प्रोत्साहनको वातावरण बनाउने बताईन् । गूर्जा म्याग्दी जिल्लाकै अति विकट बस्ती हो ।

विज्ञापन