मगर समुदायले मनाए माघेसङ्क्रान्ति पर्व

0

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले संविधानमा राज्यको हरेक निकायमा समानुपातिक समान सहभागिताको व्यवस्था भएपनि कार्यान्वयन निकायमा मगर सहित अन्य जनजाती समुदायको प्रतिनिधित्व कमजोर हुँदा हकअधिकारबाट बञ्चित हुनुपरेकोे बताउनुभएको छ ।

नेपाल मगर संघ ,म्याग्दीले माघेसंक्रान्तिको अवसरमा बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान ,सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा बोल्नुहुँदै प्रमुख थापा मगरले यस्तो बताउनुभएको हो । उहाँले देशमा लामो समयपछि लोकतन्त्र आएपनि शासकिय स्वरुप भने पुरानै रहेको बताउनुभयो । उहाँले मगर समुदाय सहित जनजाती तथा दलित समुदायहरुले आफ्ना सन्तानलाई शिक्षित बनाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

‘नेपालको संविधानमा समानुपातिक समान सहभागिताको व्यवस्था गरिएपनि कानुन कार्यान्वयन गर्ने निकायमा प्रतिनिधित्व कमजोर हुँदा हाम्रो मुद्धा ओझेलमा प¥यो,’ प्रमुख थापा मगरले भन्नुभयो । ‘खोसिएका हक अधिकार प्राप्त गर्न समानुपातिक समान सहभागितालाई उपयोग गरी राजनितिक ,प्रशासनिक तथा हरेक कानुन कार्यान्वयन निकायमा प्रतिनिधित्व बढाउन आवश्यक छ ।’ कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका थापा मगरले कला ,भाषा र संस्कृती नै जातिय अस्तित्व भएकाले यसलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सांस्कृतिक पर्वले राष्ट्रिय एकता कायम गर्नुका साथै देशको पर्यटन क्षेत्रलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘माघे संक्रान्ति मगर समुदायको सांस्कृतीक पर्व मात्र नभई देशको पहिचान हो ,यसले देशको पर्यटन लगायत आर्थिक क्षेत्रमा ठुलो योगदान दिएको छ ’,उहाँले भन्नुभयो । ‘जातिय कला संस्कृती भाषा र पहिचान जगेर्ना ,संरक्षण र प्रवद्र्धन गर्नमा सरकारले कन्जुस्याइँ गर्नुहुँदैन ।’ जातिय भाषा ,कला ,संस्कृती संरक्षण र जगेर्ना गर्ने राज्यको दायित्व भएपनि राज्य उदासिन भएकोप्रति गुनासो व्यक्त गर्नुभयो ।

कार्यक्रमममा नेपाल मगर संघ ४ नं प्रदेशका सचिव राजकुमार थापाले देशमा धेरै परिवर्तन आएको बताउनुहुँदै मगर समुदायले हकअधिकार प्राप्तीका लागि नयाँ ढंगबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीले मगर समुदाय सहित दलित समुदाय पनि राज्यबाट विभेदमा परेको बताउनुहुँदै आफ्नो हकअधिकार प्राप्तीका लागि नयाँ ढंगबाट लडाई सुरुवात गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

साथै उहाँले मगर समुदायको कलासंस्कृती तथा भाषा संरक्षण र जगेर्ना गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ,मगर संघ ,बेनी नगरपालिकाका अध्यक्ष नरबहादुर थापा मगर ,नेपाल मगर संघ ,पर्वतका पुर्व सचिव बुद्धी पुर्जा लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा नेपाल मगर संघ,म्याग्दीकी अध्यक्ष डकमाया पाईजा मगरले राज्यले चासो नदिएका कारण मगर समुदाय सहित अन्य जनजाती समुदायको भाषा ,कला र संस्कृती लोप हुने अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले राज्यको बेवास्ताका कारण मात्रृभाषा नयाँ पुस्तामा हस्तान्तरण गर्न समस्या भएको बताउनुहुँदै जातिय भाषा,कला र संस्कृतीको सरक्षण र जगेर्ना गर्न स्थानिय ,प्रदेश र संघिय सरकारको दायीत्व भएको बताउनुभयो । उहाँले मगर समुदायको परम्परागत संस्कार ,कला ,संस्कृती र भाषालाई जिवन्त दिन मगर संग्राहलयको स्थापना गर्ने योजना बनाएको बताउनुहुँदै सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

कार्यक्रममा भारोत्तोलनकी राष्ट्रिय खेलाडी तारादेवी पुन मगरलाई सम्मान गरिएको छ । राष्ट्रिय खेलाडी पुनलाई प्रमुख अतिथि थापा मगर र नेपाल मगर संघ ,म्याग्दीकी अध्यक्ष डकमाया पाईजाले नगद सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो । यसैगरी मगर संघ ,म्याग्दीले सांंस्कृतकि संघका कलाकार, देउसी भैलोमा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरेको छ । अध्यक्ष पाईजा मगरको स्वागत तथा सचिव खम थापा मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भारोत्तोलन खेलाडी पुन मगर सम्मानित

भारोत्तोलन खेलाडी तारादेवी पुन मगर सम्मानित हुनुभएको छ । नेपाल मगर संघ,म्याग्दीद्धारा माघेसंक्रान्तीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमममा खेलाडी पुन मगर मगरसंघ म्याग्दीबाट सम्मानित हुनुएको हो। केही समय अघि सम्पन्न १३ औं एशिलायाली खेलकुदमा नेपालको तर्फबाट भारोत्तोलनमा कास्य पदक विजेता पुन मगरलाई जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगर र नेपाल मगर संघ,म्याग्दीकी अध्यक्ष डकमाया पाईजा मगरले नगद र प्रमानपत्रले सम्मान गर्नुभएको हो ।

खेलमार्फत मगर समुदाय सहित देशको नाम उच्च बनाएको भन्दै पुन मगरलाई सम्मान गरिएको मगर संघले जनाएको छ ।सम्मानित खेलाडी पुन मगरले सम्मानले खेल क्षेत्रमा अगाडी बढ्न हौसला प्रदान गरेको बताउनुहँदै धन्यवाद दिनुभयो । उहाँले आफुले पाएको सम्मान तथा पुरस्कार समुदाय र देशको प्रतिष्ठा भएको बताउनुभयो । जिल्लाको अन्नपुर्ण गाउँपालिका ७ हिस्तानमा जन्मनुभएकी पुन मगर सन् २०१९ बाट भारोत्तोलनमा प्रवेश गर्नुभएको हो । नेपाल पुलिस क्लबमा आवद्ध पुन मगर नेपालकी स्ट्रङगेष्ट वुमेनको उपमा सहित दर्जनौ खेलमा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

Leave a Reply