बेनी नगरपालिका–४, राक्सेकी मैना खत्रीले परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा च्याउ खेती सुरू गरेकी छन् । घरायसी काम, मेलापातमा गएर दिन विताउने गरेकी खत्रीले समान्य तालिम लिएर घरमै खानका लागि च्याउ उत्पादन गरेकी खत्रीले सानो लगानीमा मनग्य आम्दानी हुने देखेपछि ब्यवसायीक रुपमै च्याउ उत्पादन सुरू गरेकी छन् । चारवटा टनेलमा च्याउ उत्पादनसँगै बिक्री गर्न भ्याइनभ्याई छ।

एउटा टनेलमा उत्पादन गरेको च्याउले बजारको माग धान्न नसकेपछि चारवटा टनेलबाट दैनिकजसो बिक्री हुन थालेको छ ।
थोरै लगानीमा धेरै फाइदा लिन सकिने कन्य जातको च्याउ खोज्दै ग्राहक टनेलमै पुग्न थालेपछि महिला उद्यमी खत्री उत्साहित छिन् ।‘खेतबारीमा रोपेको धान, मकै र अन्य बालीले बर्षभरी खान समेत नपुग्ने अवस्थामा च्याउबाटै राम्रो कमाई भएको छ’ खत्रीले भनिन् ।

उनले परालबाट उत्पादन हुने च्याउ स्वस्थ्यकर हुने भएकाले पनि तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीले समेत टनेलबाटै खरिद गरेर लैजाने गरेको बताईन् ।उनले जुन सुकै रोग भएका बिरामीले समेत खान मिल्ने भएकाले पनि उत्पादन गरेको च्याउको बजार अभाव नभएको बताईन् । उनले टनेलभित्र आफ्नै हेरेर समेत टिप्न पाइने बताईन् ।

टनेलबाटै प्रति केजी ३ सय रुपैयाँमा च्याउ बिक्री गर्ने गरेको उनको भनाई छ । दुई सय ग्राम बीउबाट १५ केजीसम्म उत्पादन हुने भएकाले पराललाई काटी टुक्रा पारेर प्लाष्टिकमा एक पटक पोका पारेपछि तीन पटकसम्म उत्पादन दिने महिला उद्यमीको भनाई छ । १७ देखि २३ दिनसम्ममा बिक्रीका लागि तयारी हुने भएकाले मंसिर देखि फागुनसम्म च्याउ अन्य महिनाको तुलनामा राम्रो हुने गरेको छ ।

चारवटा टनेलमा ३ लाख लगानीमा विस्तार गरेको च्याउ खेतीबाट पहिलोबर्ष नै करिव ३ क्विंटल च्याउ विक्री गरेको अर्की उद्यमी गिता कार्कीले बताईन्। ‘दुईजनाको प्रयासमा च्याउ खेती गरेका छौ,‘आर्थिक रुपमै आत्मनिर्भर बन्न च्याउले सजिलो भएको छ’ कार्कीले भनिन् ।उनले टनेल निर्माणसँगै घरबाटै पराल ल्याएर, बीउ खरिद गरी सुरू गरेको एउटा टनेलमा करिव डेढ सय केजीसम्म च्याउ उत्पादन गरिएको बताईन्।

च्याउको उत्पादन र माग बढेसँगै थप चारवटा टनेल विस्तारको योजना समेत रहेको उद्यमीको भनाई छ । यता वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले पौष्टिक तत्व हुने, विषादीको प्रयोग नहुने र विभिन्न किसिमका रोगको प्रतिरोधक क्षमता जस्ता गुणहरू भएकाले वडामार्फत तालिम सहितको प्रोत्साहिन कार्यक्रमलाई समेत प्राथमिकता दिने बताए । उनले शाकाहारीको रोजाईमा रहेकाले गाउँमा आयआर्जनको माध्यम च्याउलाई बनाउन सकिने बताए ।