आफ्नो १० वर्षिय छोराले पहिले भन्दा फरक व्यवहार देखाउन थालेपछि बेनी नगरपालिका २ की निता थापा चिन्तित भइन् । १० वर्षिय छोरा निन्द्रामा झक्किने, बेलाबेला एकोहोरिने, केही सोध्दा झर्किने गरेपछि उनले दुई साताअघि मनोचिकित्सककहाँ लगिन् । बाल मानसिक रोग विशेषज्ञ डा.सरोज अवस्थीले बालकलाई डिपे्रसन भएको र बालबालिकामा डिप्रेसनको समस्या देखिनु निकै खतरनाक हुने बताएपछि थापा छाँगाबाट खसेजस्तै भइन ।

डा.अवस्थीका अनुसार, सातदेखि १० वर्षका बालबालिकालाई डिप्रेसनले सताउनु निकै खतरा हुन्छ।“किशोरावस्था र त्यसमाथिका उमेरले आफूलाई भएको कुरा बताउन सक्छन् र उनीहरूको अनुहारको उदासीबाट पनि समस्या थाहा पाउन सकिन्छ । तर बालबालिकामा त्यस्तो नहुने भएकाले बढी सचेत हुनुपर्छ”,उनी भन्छन् ।वयस्क मानिसमा जस्तै बालबालिकामा देखिने डिप्रेसन पनि उपचारपछि ठीक हुने डा.अवस्थीको भनाइरहेको छ ।

परिवार र विद्यालय चनाखो नहुनुको परिणाम :बाल डिप्रेसन
चिकित्सकहरूका अनुसार, तनाव बढी भयो भने मानसिक स्वास्थ्य समस्या हुन्छ । बालबालिकामा मानसिक समस्या बढ्नुमा पारिवारिक कलह, अभिभावकको बेवास्ता र आवश्यकता भन्दा बढी नियन्त्रण, बुलिङ,विद्यालयले दिने सजाय जस्ता कारण प्रमुख हुन् । आजका बालबालिका तनावै तनावले घेरिएका छन् । घरदेखि विद्यालयसम्म अनेक नियम–कानून र दबाब झेल्दै उमेरले नधान्ने बोझ् बोक्न बाध्य बालबालिका नजानिंदो रूपमा तनावको शिकार हुन थाल्छन् ।

बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढ्नुमा परिवारसँगै विद्यालय र समाज पनि उत्तिकै जिम्मेवार रहेको मनोविद्हरुको भनाइरहेको छ । बालमनोविद् शंकर रुचालका अनुसार विद्यालयमा जीवन बाँच्ने कला भन्दा पनि बालबालिकालाई अस्वस्थ प्रतिस्पर्धाको लागि दबाब दिइँदा उनीहरू मानसिक भार बोक्न बाध्य हुन्छन् ।

रुचाल भन्छन् “धेरै नम्बर ल्याउनु नै अब्बल र सफल तथा थोरै नम्बर ल्याउनु काम नलाग्ने हुनु हो भन्ने शिक्षा पद्घति र शैक्षिक अभ्यासका कारण हाम्रा बालबालिकामा तनावको बीजारोपण भएर मानसिक स्वास्थ्य समस्या शुरू भइरहेको छ ।”किताबी ज्ञानमा मात्रै जोड दिने परिपाटीका कारण बालबालिकाले विद्यालयमा दैनिक ६–७ घण्टा बिताएर पनि घरमा अङ्क र अक्षरकै संसारमा बाँधिनुपर्ने हुन्छ ।

एकातिर विद्यालयले दिएको गृहकार्य थेगिनसक्नुको हुन्छ, अर्कातिर अभिभावकले पनि बच्चाहरूले हरबखत किताब समाएको देख्न चाहन्छन् ।त्यस कारण बालबालिकाहरूले शारीरिक र मानसिक विकासको लागि अपरिहार्य हुने खेल र मनोरञ्जनका लागि समय नै पाउँदैनन् । बालबालिकाहरू कलिलो ज्यान लच्किने गरी गह्रुङ्गो झोला बोकेर विद्यालय जान्छन, जहाँ उनीहरूले बाल मनोविज्ञान अनुकूल वातावरण र सिकाइको साटो मानसिक सास्ती पाउँछन् ।

अनुशासनको नाममा विद्यालयहरूले लागू गर्ने कठोर नियमले बच्चाहरू प्रताडित हुने बालमनोविद् रुचाल बताउँछन् । अक्षर राम्रो हुनुपर्ने, बालकले छोटो कपाल काट्नुपर्ने, बालिकाले दुईपट्टि कपाल बाट्नुपर्ने, गृहकार्य दुरुस्त बुझाउनुपर्ने र यी नियम पालना नगरे बालबालिकाले सजायको भागिदार बन्नुपर्छ ।

बाल मानसिक रोग विशेषज्ञ डा.अवस्थी विद्यालयले बालबालिकालाई अनावश्यक मानसिक भार दिंदा कलिलो मगजमा गहिरो असर पर्ने बताउँछन् । बालमनोविद् रुचाल पनि विद्यालयले बालबालिकालाई अप्ठ्यारो होइन, सहज वातावरण बनाइदिनुपर्ने बताउँछन् । विद्यालय बालमैत्री हुनुपर्नेमा गल्ती गर्दा कडा दण्ड–सजाय दिने, जटिल नियम ल्याएर बालबालिका र अभिभावकलाई सकस दिने प्रवृत्ति देखिनु विडम्बना भएको उनको चिन्ता छ ।

उनी भन्छन्, “अक्षर बुझ्नका लागि हो, सफा र बुझिने गरी लेख्न सिकाउनुपर्छ । तर हाम्रा विद्यालयमा अक्षर नराम्रो भएकै निहुँमा मरणासन्न हुने गरी कुटिएका घटना पनि छन् ।”अर्कातिर, घरको वातावरण र हुर्काइको शैलीका कारण पनि बालबालिकामा मानसिक समस्या बढ्दो छ । सूचना–प्रविधिको सहज पहुँचसँगै अहिले घरघरमा बच्चाको हातमा मोबाइल फोन, ट्याब वा ल्यापटप कम्प्युटर थमाइँदा उनीहरू यी वस्तुको लतमा फसेका छन् ।

समस्या ‘डिजिटल एडिक्सन’
अभिभावकले बच्चालाई पर्याप्त समय दिनेभन्दा अलमल्याउने सजिलो उपायका रूपमा मोबाइल, ट्याब लगायतका वस्तु दिने गरेका छन् । जसले गर्दा समयक्रममा ‘डिजिटल एडिक्सन’ का कारण उनीहरूमा विभिन्न शारीरिक र मानसिक समस्या बढिरहेको मनोविद्हरू औंल्याउँछन् । डिजिटल वस्तुतिर एकोहोरिंदा बालबालिकाहरू असामाजिक बनिरहेको पनि उनीहरूको चिन्ता छ ।

बालबालिकाहरू इन्टरनेट मार्फत विभिन्न गेमको अम्मली मात्र बन्दैनन्, पोर्नोग्राफीतिर जाने जोखिम पनि हुने भएकाले अभिभावक विशेष सजग हुनुपर्ने बाल मानसिक रोग विशेषज्ञ डा.अवस्थि बताउँछन् । “बच्चाहरूले मोबाइल र ट्याब कति समय खेल्छन् भन्ने कुनै लेखाजोखा हुँदैन, जसले विस्तारै उनीहरूमा डिजिटल एडिक्सन हुन्छ र एक्लोपन बढाउँदै मानसिक रोगी बन्न पुग्छन् ।”

बेनी बजारमा बस्ने विष्णु तिलिजाका ११ वर्षीय छोरा मोबाइलमा ‘स्टिक मेन पार्टी’ गेम खेल्थे । मोबाइलको लतमा पर्दै गएपछि पढ्न, खान र सुत्न समेत छाडेर गेम खेल्ने, विद्यालय जान नमान्ने, वाईफाई अफ गरिदिंदा झगडा गर्ने गर्न थालेपछि छोरालाई उनले मनोचिकित्सककहाँ पुर्याइन् ।

आफ्नै लापरबाहीका कारण छोरो डिजिटल एडिक्सनमा फसेकोमा पछुतो मान्छिन् उनी । “मोबाइल खेल्दा के नै बिग्रेला भनेर दियौं र वास्ता पनि गरेनौं, अहिले छुटाउन एकदम गाह्रो भइरहेको छ”, तिलिजा भन्छिन् । उपचारको क्रममा रहेका छोरा पछिल्लो समय विद्यालय जान अलि सहज मान्न थालेको उनी सुनाउँछिन् ।

बालबालिकालाई सूचना–प्रविधिको जञ्जालमा हराउन नदिन उनीहरूको साथी बन्ने कोशिश गर्दै गुणस्तरीय समय दिनुपर्ने मनोचिकित्सकहरुको भनाइरहेको छ । शारीरिक र मानसिक सबलीकरणमा सघाउने खेलकुद र सिर्जनशील कार्यमा बच्चाहरूसँग आफू पनि सहभागी हुने तथा परिवारभित्र र छरछिमेकका अन्य बालबालिकासँग घुलमिल गर्न प्रेरित गरेर सामाजिक सम्बन्ध विकसित गर्नुपर्ने मनोचिकित्सकहरु बताउँछन् ।

मानसिक तनावकै कारण बालबालिकाले सानै कुरामा प्रतिक्रिया जनाएर अनपेक्षित घटना हुने क्रम पछिल्लो समय देखिन थालेको छ । कतिपयले आत्महत्या गर्नेसम्मको कदम चाल्ने गरेकाले बालबालिकाको मानसिक स्वास्थ्यमा घरपरिवार, विद्यालय र राज्य संवेदनशील बन्नुपर्ने देखिएको छ ।

बालबालिकामा डिप्रेसन, एन्जाइटी, अप्सेसिभ इम्पलसिभ डिसअर्डर (ओसीडी) लगायत मानसिक समस्या देखिने गरेको छ। डिप्रेसन भएका बालबालिका सामान्य कुरामै रिसाउने, झर्काे मान्ने, नियमित काममा अरुचि देखाउने जस्ता लक्षण देखिन्छन् भने एन्जाइटी भएमा विना कारण आत्तिने, डराउने, स्कूल जान नमान्ने हुन्छन् ।

यस्तै, तीनरचार वर्षको उमेरदेखि देखिन सक्ने ओसीडी भएका बालबालिकाले एउटै कुरा बारम्बार सोधिरहने, कुनै काम गर्न शुरू गरेपछि एकोहोरो गरिरहने चिकित्सकहरुले बताएका छन् ।मानसिक तनावकै कारण बालबालिकाले सानै कुरामा प्रतिक्रिया जनाएर अनपेक्षित घटना हुने क्रम पछिल्लो समय देखिन थालेको छ । कतिपयले आत्महत्या गर्नेसम्मको कदम चाल्ने गरेकाले बालबालिकाको मानसिक स्वास्थ्यमा घरपरिवार, विद्यालय र राज्य संवेदनशील बन्नुपर्ने देखिएको छ ।