तरकारीखेतीमा भविष्य खोज्दै खबराका किसान

0

बिहानदेखि साँझसम्म माटो, पानी र बिरुवासँग खेलिरहने मात्र होइन, ग्राहकलाई चाहिएको तरकारी बारीबाटै हातमा थमाइदिन्छन् बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की । तरकारी टिप्दै बारीमै आउने ग्राहकसँग भलाकुसारी गर्न भ्याउने हँसिला ५८ वर्षीय कार्की म्याग्दीका अर्गानिक तरकारीका पिता मानिन्छन् ।

कार्कीका लागि घर अगाडिको तरकारी बारी नै यूरोप र अमेरिका सरह भएको छ । ४० वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती शुरू गरेका कार्कीले यसबाट नाम र दाम दुवै कमाएका छन् । तरकारीको बीउ र बिरुवासमेत आफ्नै नर्सरीमा उत्पादन गर्दै आएका उनी यो व्यवसायबाट मासिक ६५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।

पर्यटकीय क्षेत्रको रूपमा विकास भएको लभ्लीहिलको तल्लोपट्टि २० मिटरमा छ कृषक कार्कीको घर । घर अगाडिको २२ रोपनी जग्गामा फलेका छन् गोलभेँडा, काउली, बन्दागोभी, मुला, गाजर, सिमी, काँक्रा, साग, प्याज, लसुन, धनियाँ र अरू धेरै तरकारी । घरको माथिल्लोपट्टि एउटा टिनले छाएको छाप्रोमा तरकारी बेच्ने पसल छ । लभ्लीहिल जाने पर्यटक त्यही पसलमा फलफूल र तरकारी किनेर फर्किने गर्छन् । उनले करीब २२ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । स्थानीय बजारमा उनले उत्पादन गरेका तरकारीको माग राम्रो छ ।

कार्कीजस्तै अर्का किसान हुन् बेनी नगरपालिका–२ रोहोटेका शोभित शर्मा । शर्माले व्यावसायिक तरकारी खेती गर्न लागेको करीब २० वर्ष भयो । यो अवधिमा उनले तरकारीबाटै ५० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जोडिसकेका छन् । सानै उमेरमा बुबाको मृत्यु भएपछि परिवारको सम्पूर्ण जिम्मेवारी सम्हालेका ३८ वर्षीय शर्माले भने, ‘साँझ बिहान खानेकुरा हुँदैनथ्यो, घरको जिम्मेवारीले गर्दा पढ्न पनि सकिनँ, विदेश जाने पैसा नभएपछि २ रोपनी पाखोबारीमा तरकारी खेती शुरू गरेँ । तरकारीखेतीले आफ्नो दुःखको दिन फेरिएको उनको अनुभव छ ।

कार्की र शर्माले तरकारी मात्र होइन, फलफूल खेती, बाख्रापालन र माछापालन पनि एकसाथ गरेका छन् । कार्कीले तरकारीसँगै केराखेती र माछापालन गरेका छन् भने शर्माले बाख्रापालन गरेका छन् । अहिले पनि कार्की र शर्माको बारीमा काउली, बन्दाकोबी, मूला, गाजर, सिमी, काँक्रा फलेका छन् । तरकारीको स्वाद र गुणस्तरका कारण नै लामो समय बजारमा आफ्नो उत्पादन टिकेको कार्कीको भनाइ छ ।

कार्की र शर्माले उत्पादन गरेको तरकारीको माग सदरमुकाम बेनी बजारमा धेरै छ । बाहिरबाट आयातित सस्तो तरकारीभन्दा उपभोक्ताले केही रकम बढी तिरेरै भए पनि उनीहरूले उत्पादन गरेको तरकारी किन्ने गरेका छन् । बजारमा तरकारी पुर्‍याउन नै हम्मेहम्मे पर्ने गरेको उनीहरूको अनुभव छ । ‘बजारमा होस् वा गाउँमा अग्र्यानिक तरकारी खोज्ने मानिस बढ्दै गएका छन्,’ शर्माले भने, ‘मागेजति तरकारी पुर्‍याउन सकेको छैन ।’

उपभोक्ताको चाहना अनुसारको उत्पादन दिन सके पैसा कमाउन विदेश जान नपर्ने शर्माको भनाइ छ । प्रायः सबै काम आफै गर्ने शर्मालाई पछिल्लो समय प्रविधिले सघाएको छ । खेतबारीको खनजोत गर्न आधुनिक मेशिन आएकाले सहज भएको उनले बताए।

‘परिवारसँग रमाएर आफ्नै बारीमा कमाएको छु,’ अर्का किसान कार्कीले भने, ‘मेहनत गर्न सके कमाउन विदेश किन जानु ?’ तरकारीको उत्पादनबाट सफलता पाएका शर्मा र कार्कीले पछिल्लो समय फलफूल खेती, माछा र बाख्रा पालनलाई समेत व्यवस्थित गर्दैै लगेका छन्   #file photo#

Leave a Reply