बेनीमा क्षत्री समाजको प्रशिक्षण कार्यक्रम

0

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाजको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । खस क्षत्रीहरुको साझा संस्था क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा प्रशिक्षण गरिएको हो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय महासचिव केशबहादुर केसीले म्याग्दी जिल्लाको सबै ठाउँमा सङ्गठन निर्माण गर्न सुझाव दिएका छन् । उनले देशैभर रहेका क्षत्री बन्धुहरुलाई एकताबद्ध गरी राष्ट्रियता अखण्डताको अभियानलाई तीव्रता दिने बताउँदै अझै पनि राज्यले क्षत्री समुदायलाई उपेक्षा गरेको बताए । उनले आरक्षण जातीय आधारमा नभई वर्गीय आधारमा हुनुपर्ने भन्दै यसका लागि खबरदारी गरिररहनुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा क्षत्री समाज गण्डकी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष ईन्द्रमान खत्रीले विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए । कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय सदस्य अमृतदेवी बानियाँ, गण्डकी प्रदेशका सचिव लक्ष्मी अधिकारी, क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावल, बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र बेनपा–६, का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले मन्तव्य राखेका थिए ।

कार्यक्रम क्षत्री समाज म्याग्दीका अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, सहसचिव हिमबहादुर भण्डारीको सञ्चालन र क्षत्री महिला समाजका अध्यक्ष कमला जिसीको स्वागतमा सम्पन्न भएको थियो । २०६८ सालको जनगणना अनुसार म्याग्दीमा १७ प्रतिशत क्षत्री समुदायको बसोबास रहेको छ ।

Leave a Reply