पुष्परसमा कमी आउँदा मौरीलाई चरन क्षेत्रको अभाव

0

पौयूँका रुखहरु नासिने र गाउँघरतिर तोरी खेती गर्ने चलन हराउँदै गएपछि हिमाली जिल्ला म्याग्दीका विभिन्न क्षेत्रहरुमा व्यवसायिक रुपमा मौरी पालन गरेका कृषकहरुले पुष्परसमा कमी आउँदा मौरीलाई चरन अभाव हुँदा मह उत्पादनमा कमी आएको वताएका छन् । जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, वावियाचौर लगाएतका गाउँहरुमा व्यवसायिक रुपमा मौरी पालन गरेका कृषकहरुले विगतका वर्षहरुको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र महउत्पादन कमी भएको वताएका हुन् ।

बेनी नगरपालिका २ का मौरीपालक कृषक जीतबहादुर थापाले तोरी, वुकी, पैयू, दुदिलो लगाएतका फुल तथा वनस्पतीहरुमा यस वर्ष रसको मात्रा घटेको वताउनु भयो । थापाले विगतका वर्षहरुमा यो सिजनमा मौरीले अरु समयको तुलनामा वढि मह उत्पादन गर्ने गरेका वताउँदै यो वर्ष विगतको तुलनामा आधा कम मह उत्पादन भएको छ भन्नुभयो ।

मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको माघ फागुन महिनामा पनि कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो थापाले भन्नुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीले गत साल अत्यधिक वर्षा र त्यसपछि सुख्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वभाविक रुपले कमी आएकोले यस्तो समस्या उत्पन्न भएको बताएको छ ।

मौरीको गोलाको संख्या अत्यधिक रुपमा वढिरहेका तर कृषकहरुले चरनक्षेत्रमा ध्यान नदिएका र वढ्दो रासानिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा समेत प्रभाव परेकाले फलफूलजन्य वनस्पतीहरुमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिकहरुले बताए । कृषि ज्ञान केन्द्र म्याग्दीले मौरीपालक कृषकहरुले मौरीको गोलासंगै चरन क्षेत्रको विस्तारमा पनि ध्यान दिन कृषकहरुलाई सल्लाहा दिदैं घार वरिपरि वाँझो जग्गा नराख्न र विशेषगरी पुष्पजन्य वोटविरुवाहरु लगाउन अनुरोध गरेको छ ।

Leave a Reply