केही वर्ष अघिसम्म भारतीय तथा बेलायती सेना, वैदेशिक रोजगारी र मौसमी मुग्लान जानेलाई ‘लाहुरे’ सम्बोधन गरिन्थ्यो । तिनैले विदेशमा दुःखसुख गरी कमाएर पठाएको विप्रेषणको बलमा धानिएको म्याग्दीको ग्रामीण अर्थतन्त्रले आफ्नो परिभाषा बदल्दै गएको छ । अब यहाँको अर्थतन्त्र विप्रेषणमा होइन, उद्यमशीलता, शीप र व्यवसायमा आधारित हुन थालेको छ । गाउँलेमा एकता, विकासे काममा बढ्दो सहभागिता र सचेत नागरिकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

समुदायको आफ्नै प्रयत्नमा गाउँलेको जीवनस्तर र गाउँको स्वरूपमा भने रहरलाग्दो परिवर्तन देख्न थालिएको छ । व्यावसायिक तरकारी खेती र पशुपालन, दूधजन्य व्यवसाय, शीपमूलक तालीम, साना तथा कुटीर घरेलु उद्योग, पर्यटकलक्षित घरबास सेवा (होमस्टे) ग्रामीण सडकको पहुँच, जडीबुटी तथा वनपैदावारले ग्रामीण अर्थतन्त्रमा सहयोग पु¥याइरहेका छन । त्यस्तै, सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्थाहरू, लघुऊर्जा, पर्यटन र व्यापारव्यवसायको जगमा म्याग्दीको ग्रामीण जीवनस्तर सकारात्मक दिशातिर अग्रसर हुँदै गएको छ । यसले ‘लाहुरे’ र विप्रेषणजस्ता परम्परागत आर्थिक स्रोतमा परिवर्तन ल्याएको छ ।

१२ वर्षसम्म वैदेशिक रोजगारीमा बिताएका सिङ्गा बास्कुनाका तिलक गुरुङले गाउँ फर्केर व्यावसायिक पशुपालन तथा तरकारी खेती शुरू गरेको केही वर्षमा नै विदेशमा भन्दा पाँच गुणा बढी आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारी र विप्रेषणबाट गाउँ होइन, शहरको विकास हुने उनको धारणा छ । आफ्नो गाउँको विकास रैथाने माटो, आयातित शीप, व्यावसायिक चेतना र जाँगरिला पाखुराको माध्यमबाट सम्भव रहेको उनले बताए । उद्यमशील युवाले नै गाउँलाई समृद्ध बनाउने उनको विश्वास छ ।

गुरुङ एक प्रतिनिधि पात्र मात्र हुन । उनको भनाइले जिल्लाका सयौं पौरखी उद्यमीको प्रतिनिधित्व गर्छ । गुरुङजस्तै बेनपा २ भकुण्डेकी कमला थापामगरले मौरीपालन र फर्निचर उद्योग सञ्चालन गरिरहेकी छन । त्यस्तै, बेनपा २ कै सोभित शर्मा र चन्द्रवहादुर कार्कीले तरकारी खेती र मौरीपालन गरिरहेका छन ।

उनीहरूको वार्षिक कमाइ १० लाख रुपैयाँको हाराहारीमा छ । बाख्रापालन गरेका बरङ्जाका टेकबहादुर विक, बेनीको मङ्गलाघाटमा दूधजन्य व्यवसाय गरेका अर्मनका प्रेम कँडेल, सिलाइकटाइ व्यवसाय सञ्चालन गरिरहेकी घारकी विष्णु बरुवाल, गलैंचा उद्योग सञ्चालन गरिरहेकी राखु पिप्लेकी सरस्वती बरुवाल उनीहरू सबैको मासिक कमाइ खाडी मुलुकमा रातदिन मेहनत गरेर कमाउने नेपाली कामदारको भन्दा कम छैन।

अझ रहरलाग्दो कुरा त उनीहरूको जीवनशैली र आत्मविश्वास हो । उनीहरूमध्ये प्रायःले आफ्ना छोराछोरीलाई गुणस्तरीय आवासीय विद्यालय वा शहरका कलेजमा शिक्षा दिइरहेका छन् । धेरैले बेनी, पोखरा, भरतपुर वा काठमाडौंमा घरघडेरी पनि जोडिसकेका छन् । तिनैमध्येका एक मङ्गलाघाटका चन्द्रबहादुर कार्की पनि हुन् ।

२०४२÷०४३ सालतिरको कुरा हो । शुरूमा घरको आर्थकि अवस्था कमजोर भएका कारण विदेश जाने उद्देश्यले उनी काठमाडौं पुगे । ९ दिनसम्मको काठमाडौं बसाइपछि उनको मन परिवर्तन भयो । विदेश जान भनी ऋण खोजेर लगेको ३८ हजार रुपैयाँ काठमाडौंको एक होटलमा बसेर गन्दागन्दै ‘यत्रो रकम खर्च गरेर विदेश जानुभन्दा त गाउँमै फर्केर केही गर्छु भन्ने निचोडमा पुगेँ र गाउँ फर्किएँ ५८ वर्षिय कार्की भन्छन ‘अहिले त सम्झँदा पनि हाँसो लाग्छ । गाउँमै फर्केर तरकारी खेती शुरू गरेँ, भैसी पालेर दूध बेच्न थालेँ । त्यसैको आम्दानीबाट मङ्गलाघाटमा घडेरी किनेँ र घर बनाएँ । छोराछोरीलाई पढाएँ र बिहे गरिदिएँ ।’ आज सम्झँदा उनलाई विदेश नगएर ठीकै गरेछुजस्तो लाग्छ ।

गाउँले व्यावसायिक भएपछि गाउँ समृद्ध बन्ने नै भयो । पर्यटकीय गाउँ शिख, घार, दाना, भुरुङतातोपानी, घोडेपानी कृषि गाउँ बाबियाचौर, अर्मन, बरङ्जा, रत्नेचौर, ज्यामरुककोट, वनपैदावार र जडीबुटीका लागि चर्चति गाउँ गुर्जा, लुलाङ, मुदी, ताकम, घतान, पाखापानी, ऊर्जा उत्पादनमा चिनिएका पिप्ले, भगवती, दग्नामलगायतका गाउँको पछिल्लो ५ वर्षमा कायापलट नै भएको जिल्ला समन्वय समित म्याग्दीको तथ्याङ्क छ ।

‘गाउँका घरहरूको छाना फेरिएका छन । पशु बाँध्ने गोठमा पशुसँगै मोटरसाइकल ठडिएका छन्’ बेनी नगरपालिका ५ का वडाअध्यक्ष लक्ष्मण बानियाँ भन्छन् ‘केटाकेटीहरू टाई–बेल्टमा कसिएर बोर्डङि स्कूल कुदिरहेका छन । सिमेण्ट, छड र खाद्यान्न बोकेर गाउँ पुगेका ट्रक र ट्याक्टरहरु गाउँबाट खसीबोका, कुखुरा, तरकारी र दूध बोकेर शहर फर्कन्छिन। गाउँमा खानेपानी र सरसफाइको व्यवस्था छ । विद्युत र सञ्चारको सुविधा पुगेको छ । स्वास्थ्य चौकी र विद्यालय थपिँदै गएका छन् ।’

Annapurna Century photo Source: eyesonnepal.com गाउँको अर्थशास्त्र र समाजशास्त्र ग्रामीण अर्थतन्त्रको सिद्धान्तको परिभाषालाई बल्ल ग्रामीण क्षेत्रका सचेत व्यक्तिहरूले बुझ्न थालेको म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवम् अर्थशास्त्रका प्रध्यापक कृष्णवहादुर थापा बताउँछन् ।
‘ग्रामीण अर्थतन्त्र भनेकै कृषि, पशुपालन र साना उद्योग हुन्, थापाले भने “म्याग्दीको ग्रामीण समाजले आयआर्जन गर्न थालेको छ ।” यातायात र सञ्चारको विकाससँगै प्राप्त सुविधालाई सदुपयोग गरी व्यावसायिक रूप दिन थालेपछि ग्रामीण जीवनशैलीमा सुखद लक्षणहरू देख्न थालिएको छ । यसले परम्परागत ग्रामीण अर्थतन्त्रले गाउँको विकासमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने प्रमाणित गरेको छ । ‘ग्रामीण अर्थतन्त्रका आधारहरूलाई ग्रामीण भेगका युवाले बुझ्न थाल्नु सकारात्मक कुरा हो,’ थापाले भने ।

त्यसैगरी, युवा उद्यमी एवं राजनीतिकर्मी राजकुमार थापा भन्छन् ‘म्याग्दीका ग्रामीण जनताको बाँच्ने शैलीमा परिवर्तन आएको छ । केही व्यक्तिले विदेशमा गएर शीप सिकेपछि गाउँ फर्केर कृषि, पशुपालन र अन्य कामहरू गरी सफल बन्दै गएका छन । यसले ग्रामीण अर्थतन्त्र पनि बलियो बन्दै गएको छ ।’

उनका अनुसार यस्ता ससाना व्यावसायिक काम सञ्चालन गर्न गाउँलेहरू सक्षम हुँदै गएका छन् । गाउँलेहरूले उत्पादन गरी विक्री गरेका वस्तुहरूको आम्दानी बैङ्क तथा वित्तीय संस्थाहरूमा जम्मा हुन थालेको छ । यसबाट समग्रमा सबैले फाइदा लिइरहेका थापाले बताए ।

जनप्रतिनिधिहरुको अनुभव
गाउँका जनतासंग प्रत्यक्ष सम्पर्कमा रहने, त्यहाँको विकास र परिवर्तनलाई अनुभव गर्नेमा जनप्रतिनिधिहरु सबैभन्दा अगाडि हुन्छन् । स्थानीयको आर्थिक, सामाजिक विकास र शैक्षिक क्षेत्रको वास्तविक अवस्थाबारे विवरणहरू अद्यावधिक गर्ने जिम्मा उनीहरूकै हुन्छ । यति मात्र होइन, गाउँको ऐतिहासिक विशेषता र वर्तमान अवस्थासँग पनि उनीहरू जानकार हुन्छन । गाउँको विकासका लागि भावी रणनीति बनाउने जिम्मा पनि उनीहरूकै हुन्छ ।

बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुन भन्छन् ‘गाउँलेमा विकसित भएको चेतना, विकास निर्माणमा बढ्दो सहभागिता र आत्मनिर्भरतातर्फ केन्द्रित सोच देख्दा म छक्क पर्छु । केही वर्ष अघिसम्म विदेश जानका लागि मरिहत्ते गर्ने युवाले अहिले गाउँमै कृषि, पशुपालनलगायतका पेशा अपनाएर आर्थिक उपार्जन गर्न थालेका छन ।
गाउँलेमा सामूहिकताको विकास भएको छ । एक्लैले होइन सामूहिक रूपमा कुनै काम गर्ने हो भने सबैलाई फाइदा पुग्छ भन्ने सोचमा उनीहरू पुगेका छन्’ वडाअध्यक्ष पुनले भने, ‘आफ्नो घरजग्गाको लालपुर्जा धितो राखेरै भए पनि गाउँमा सडक निर्माण र खानेपानी आयोजना सम्पन्न गरिरहेका छन ।’

त्यसैगरी अध्यक्ष पुनले पहिले विप्रेषणबाट धानिएको गाउँमा अहिले निकै ठूलो परिवर्तन आइसकेको बताए । ‘विप्रेषणले पारिवारिक विखण्डनसमेत उत्पन्न भएको थियो । तर, अहिले अवस्था फेरिँदै गएको छ,’ उनले भने ।
मालिका,मंगला र धौलागिरि गाउँपालिकाका स्थानीयमा पनि पहिलेको तुलनामा उल्लेख्य रुपमा आर्थिक स्तर वृद्धि भएको सम्वन्धित गाउँपालिकाका प्रमुखहरुले बताएका छन् ।

ग्रामीण अर्थतन्त्र सप्रिनुको कारण
ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन आइरहेका छन । यसपछाडिका कारण धेरै हुन सक्छन । तर, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले भने शहरी क्षेत्र र विदेशमा आफ्नो भविष्य नदेख्नु नै यसमा प्रमुख कारण रहेको बताउँछन् । ‘काठमाडौंमा रेष्टुराँ चलाइरहेका यहाँका एक व्यक्तिले त्यहाँ भविष्य नदेखेपछि आफ्नै गाउँमा बाख्रापालन गरिरहेका छन। विदेशमा पसिना बगाउँदा पनि आफ्नो भविष्य नबन्ने ठानेपछि गाउँ फर्कएिका युवाहरूले टनेल राखेर तरकारी खेती गरेका छन्न ।’ तिनीहरूकै सिको गर्दै गाउँमा पशुपालन र तरकारी खेती विस्तार भएको हुँदै गएको उनकोे भनाइ छ । यसले गाउँलेको जीवनस्तरमा सुधार हुँदै गएको छ । यस्ता प्रशस्तै परिवर्तन ग्रामीण अर्थतन्त्रमा देखिएको जनप्रतिनिधिहरुको भनाइ रहेको छ ।