पासरल गुरुङ/ ब्लड क्यान्सरबाट पीडित नेपाली युवकका लागि उपचार खर्च जुटाउन अष्ट्रेलियाका नेपालीको सक्रियता बढ्न थालेको छ । ब्रिजवेनको नेपाली समाजमा सक्रिय नेपाली युवक अर्जुन तिमल्सिनालाई एक साता अघि ब्लड क्यान्सर भएको पत्ता लागेको हो ।

युवकले सहयोगको याचना गरेपछि व्रिजवेनमा सक्रिय नेपाली संघसंस्थाहरुले सहयोग संकलन गर्न हातेमालो गरेका छन् । गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड, कास्की समाज र नेपाली समुदायका अगुवाहरुले पाच दिन अघि नै अस्पताल पुगेर सहयोग संकलन बारे योजना बनाएको हो ।

उनीहरुकै योजना बमोजिम कुइन्सल्याण्डमा सक्रिय नेपाली संघसंस्थाहरुले सामुहिक रुपमा सहयोग संकलन सुरु गरेका हुन् ।सहयोग संकलनका लागि गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड, कास्की समाज अष्ट्रेलिया, नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड(एनएक्यु), कुइन्सल्याण्ड नेपलिज कम्युनिटी सेन्टर (क्युएनसिसि) र विभिन्न युवा क्लबहरु एकजुट भएका हुन् ।

आइतबार दिउसो समाजका प्रतिनिधीहरुले व्रिजवेनस्थित मेटर अस्पतालमा पुगेर बिरामी अर्जुनलाई सहयोग संकलन बारे जानकारी गराएको हो । भेटका क्रममा सहभागीहरुले सारा नेपाली एकजुट भएकाले हिम्मत नहार्न हौसला दिएका थिए ।
उनीहरुले अर्जुन तिमल्सिनाको नाममा गो फन्ड मि नामक वेवसाइटबाट सहयोग संकलन सुरु गरेका छन् । यो समाचार तयार पार्दा सम्म १८ हजार डलर संकलन भइसकेको छ । Source: nepaltube.com.au