पुराना बरपिपल,चौतारा, कुवा संरक्षण

0

बेनी नगरपालिका–६, भित्र रहेका पुराना वरपिपल, चौतारी र कुवा संरक्षणको अभियानले तिब्रता पाएको छ । पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौ अगाडीका वरपिपल, चौतारी, पोखरी र धाराको संरक्षणमा वडाले सक्रियता देखाएको हो ।

ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतमा स्थानीयको उपस्थिती रहने वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बताए । उनका अनुसार १ सयभन्दा धेरै बर्ष पुराना बरपिपलका रुख रोप्नेहरुको विवरण संकलिन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको बताए ।

यसबर्ष पोखरी संरक्षणका लागि प्रदेशबाट ३ लाख, चौतारी र कुवाका लागि २ लाख बजेट रहेको छ ।उक्त बजेटबाट थानकपोखरी, जरबुटाको चौतारी, कुवा र छापको घोतघोतको पोखरी संरक्षण गरिने वडा कार्यालयले जनाएको छ । वरपिपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने काम समेत वडाले गरेको छ ।

वडामा अहिलेसम्मको तथ्याङ्कअनुसार ५० भन्दा बढी वरपिपल र चौतारी छन् । त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ । स्थानीयको सहयोगमा वरपिपल मास्न, काट्न, रुखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ ।

Leave a Reply