‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’

राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कवितांशलाई म्याग्दीका एक युवाले यथार्थतामा परिणत दिएका छन् ।म्याग्दीको बेनी नगरपालिका ६ जरबुटाका ३५ वर्षिय नारायण जिसीले आफ्नै पाखोको जर्जर माटोलाई मिहिनेतपूर्वक खनिखोस्री गरी शुरु गरेको बेमौसमी तरकारी खेतीबाट वार्षिक रु ५ लाख बढी आम्दानी गर्न थालेपछि मानिसहरु उनको वारीमा तरकारी खेती हेर्न र खरिद गर्न जान थालेका छन्

तरकारी खेती हेरेर हातमा तरकारी लिई फर्कदै गरेका मानिसहरुले ‘गरे के हुँदो रहेनछ र’ भन्दै आफ्नो गन्तव्यमा लाग्ने गर्छन् ।२०७२ सालमा खानेपानीको समेत राम्रो सुविधा नभएको पाखाको वस्तीमा बेमौसमी तरकारी खेती गर्दा जिसीलाई धेरैले जिस्काए । खिल्ली उडाए ।

तर, अहिले भिरालो जमिनमा रहेको खेतका गह्रामा लटरम्मै टमाटर,साग,काउली,बन्दा,केराउ र काँक्रा फलेको देख्दा पहिले खिल्ली उडाउनेहरु आश्चर्य चकित भएका छन् ।

जिसीले स्वदेशमा रोजगार पाइँदैन, सानो पुँजीमा केही गर्न सकिँदैन भन्दै धमाधम ऋण काढेर कठिन मेहनत गरी थोरै पैसा कमाउन विदेशीनेहरूलाई समेत चुनौति दिनुभएको छ । तीनवटा टनेलमा गोलभेडा, पोखरीमा माछा,टनेल बाहिरको जग्गामा केराउ,फूलगोभी,बन्दा,साग र काँक्रो लगाउनुभएका जिसी अहिले टमाटर टिपेर विक्री गर्न व्यस्त छन् ।

बेमौसमी तरकारी बेचेर नै वर्षमा ५ लाख भन्दा बढी कमाइ गर्दै आएका जिसीले दिउँसो नेपाल बैंक लिमिटेड बेनीमा जागिर गर्छन् ।

‘पाँच रोपनी खेतमा गरेको तरकारी खेतीबाट वार्षिक ५ लाख बढि आम्दानी हुन थालेपछि मलाई तरकारी खेतीमा खुब टक बसेको छ’ कृषक जिसीले भने ‘दिउँसो जागिरमा जान्छु,बिहान बेलुकी तरकारी खेतीमा व्यस्त हुन्छु’ ।

तरकारी खेतीमा जिसीलाई बुबा–आमा र श्रीमतीले सघाउँदै आएका छन् । दुई जना छोरीहरुले पनि विहान बेलुकी काममा सघाउने गरेका जिसीले बताए ।

गाउँमा आर्थिक उपार्जनको कुनै सम्भावना नै छैन भन्ने बहाना बनाइ पैसा कमाउन भनि विदेश जाने युवाहरुको बीचमा अहिले जिसी चुनौति बनेर उभिएका छन् । पैसा कमाउन विदेश गएका गाउँका साथीहरुले भन्दा आफ्नै खेतको माटोमा जिसीले बढी कमाइ गर्न थालेपछि विदेशबाट आफ्नो गाउँमा फर्किएर आएका साथीहरु जिसीको प्रगति देखेर छक्क पर्ने गरेका छन् ।

पानीको असुविधाका कारण पोखरीमा पानी जम्मा गरेर उनले सिंचाइ गर्दै आएका छन् । ‘भिरालो पाखोमा रहर लाग्दो गरी तरकारी फल्ला भनेर कसैले पत्याएकै थिएनन्’ जिसीले भने ‘तनमा जाँगर र मनमा केही गर्छु भन्ने आँट हुने हो भने असम्भव भन्ने केही पनि हुँदोरहेनछ ।’

विज्ञापन