स्वदेशमा रोजगार पाइँदैन, सानो पूँजीमा केही गर्न सकिँदैन भन्दै धमाधम ऋण काढेर कठिन मिहिनेत गरी थोरै पैसा कमाउन विदेशिनेहरूलाई म्याग्दीका केही पौरखी युवाहरुले चुनौती दिएका छन् ।

लगन हुने हो र मिहिनेत गर्न सक्ने हो भने थोरै पूँजीमा पनि विदेशमा भन्दा धेरै आम्दानी गर्न सकिने उनीहरु आफैँले प्रमाणित गरिदिएका छन् । बेनी नगरपालिका–२ रोहोटेका शोभित शर्मा, खबराका चन्द्रबहादुर कार्की, बेनी नगरपालिका–४ सिङ्गा राक्सेकी गीता कार्की र मैना खत्री, जरबुटका नारायण जिसी, मालिका गाउँपालिका–५ विमका हर्क जुग्जालीलगायत युवायुवतीले गाउँमै बसेर गरेको तरकारी खेती, च्याउ खेती, सुन्तला खेती, मौरीपालन र पशुपालनबाट वार्षिक लाखौँ आम्दानी गरेर सबैका लागि उदाहरणीय बनेका छन् ।

विदेश जाने र जागिर खाने उमेरमा माटोसँग मितेरी लगाएका रोहोटेका शोभित सापकोटाले करीब ३० हजारको लगानीबाट शुरु गरेको तरकारी खेतीबाट आजभोलि वर्षको रु सात लाखभन्दा बढी आम्दानी गरिहेका छन । उनले उत्पादन गरेको तरकारी घरबाट नै बिक्री हुने गरेको छ भने बजारमा पनि खोसाखोस हुने गरेको छ । जिल्लाका अगुवा कृषकसमेत रहेका सापकोटाको फस्टाएको तरकारी खेतीले मनग्य आम्दानी दिएपछि उनी खुशी छन। उनले भने, “लौ जोड्नुहोस् बीउ, डोरी, प्लास्टिक र अन्य गरी जम्मा रु.३० हजार । रोपेको तीन महिनापछि मनग्य आम्दानी हुन्छ । अनि किन जाने ऋण काढेर विदेश ?” उनको बारीमा अहिले बन्दा, काउली, गोलभेँडा, रायोको साग, मूला, खुर्सानीलगायत तरकारी फलेको छ भने पाँचवटा प्लाष्टिक टनेलका गोलभेँडा पाक्ने अवस्थामा रहेका छन् ।

त्यसैगरी खबराका कार्कीले तरकारी खेती, केरा खेती, मौरीपालन र माछापालन गरेर वार्षिक रु १२ लाख आम्दानी गर्छन । उनले तरकारीखेती मौरीपालन र माछापालनबाट वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । “मिहिनेत गर्न सक्ने हो भने आफ्नै माटोमा पैसा फल्छ”, ५८ वर्षीय कार्कीले भने, “मैले १९ वर्षको उमेरदेखि जागिर नखाएर र वैदेशिक रोजगारीमा पनि नगई माटोसँग खेल्न शुरु गरेको हुँ, अहिले यही पौरखले रु डेढ करोडभन्दा बढीको सम्पत्ति जोडेको छु ।”

त्यस्तै राक्सेका युवतीद्वय गीता र मैनाले पनि तरकारी खेती र च्याउँ खेतीबाट नसोचेको आम्दानी गर्न सफल भएका छन् । चारवटा टनेलमा कन्या जातको च्याउ खेती गरेका गीता–मैना च्याउ बिक्रीबाट भएको आम्दानीले मख्ख छन् । राक्से सिर्जनशील कृषि फार्म नै दर्ता गरेर डेढ वर्षअघिदेखि च्याउ खेती शुरु गरेका उनीहरु च्याउ बिक्री गरेर वार्षिक रु तीन लाख कमाउन थालेका छन् । उनीहरु अहिले गाउँमा ‘उद्यमी महिला’ को पहिचानसमेत कमाएका छन् । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएका उहाँहरु च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि अहिले व्यावसायिक रुपमा च्याउ खेती गर्न थालेका हुन् ।

बजारमा च्याउको माग बढ्दै गएता पनि उहाँहरुले उत्पादन गरेको च्याउ अहिले घरबाटै बिक्री हुने गरेको छ । चारवटा टनेलमा च्याउ खेती गर्दै आएका यी दुई महिलाको आम्दानीबाट प्रभावित भई गाउँका अन्य महिलाहरुले पनि च्याउ खेती शुरु गरेको अगुवा महिला राधिका पौडेलले बताइन । सानो पराल र बाँसको छाप्रो बनाएर सानो पूँजीमा शुरु गरेको च्याउखेतीले व्यावसायिक रुप लिएपछि अहिले आधुनिक टनेलमा व्यवस्थित रुपले च्याउ खेती गरेका उनीहरु मनग्य आम्दानी हुन थालेपछि व्यवसाय विस्तारको तयारीमा लागेका छन् । छिमेकी किसानले पनि उनीहरु जस्तै च्याउ खेती शुरु गरेका छन् । च्याउको तरकारी स्वास्थ्यका लागि उत्तम मानिन्छ । च्याउको सेवनबाट विभिन्न रोग पनि निको हुने भएकाले आजभोलि बजारमा च्याउको उपभोग गर्ने उपभोक्ताहरू पनि बढिरहेका छन् । फलस्वरुप च्याउको बजार माग उच्च रहेको छ ।

मिहिनेती किसान शोभितका अनुसार नेपाली बजारमा च्याउको माग पूर्ति गराउने गरी उत्पादन भएकै छैन । उनले शुरुमा थोरै लगानी गरेर मिहिनेत गरे वर्षमा लाखौँ कमाउन विदेश गइरहन आवश्यक नरहेको बताए । उनले भने, “सरकारले पढेर विदेशिने युवालाई च्याउखेतीसम्बन्धी तालीम दिएर ऋण उपलब्ध गराई सहयोग गर्ने हो भने विदेशिने युवा पनि स्वदेशमै आत्मनिर्भर बन्न सक्नेछन् । उनले सहकारीको माध्यमबाट च्याउखेती गरे झन् बढी आम्दानी हुन सक्ने बताए ।

त्यसैगरी बेनी नगरपालिका– ६ जरबुटाका नारायण जिसीको कृषि मोह पनि कम रोचक छैन । भूगोलले नै ठगेको जरबुटाको पाखोवारीमा तरकारी खेती गर्दा शुरुमा गाउँलेले जिल्याएको सम्झिदा जिसीलाई अहिले कम आनन्द लाग्दैन । न सिँचाइको व्यवस्था, न नजीकमा जङ्गल । अनकन्टार ठाउँमा पोखरीमा जम्मा गरेका पानीबाट २०७२ सालमा बेमौसमी तरकारी खेती शुरु गरेका जिसी अहिले तरकारी बेचेर मात्रै वार्षिक ६ लाख रुपैयाँसम्म कमाई गर्दै आएका छन । उनका बारीमा माघको यो चिसोमा पनि लटरम्म फलेका गोलभेँडा, साग, केराउ, बन्दागोभी, काउली, खुर्सानी, गाजर र काँक्रो लहलहै झुलेका छन् । बेमौसमी तरकारीबाट यो सिजनमा रु तीन लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य जिसीको छ ।

त्यस्तै विमका हर्क जुग्जालीले सुन्तला विक्रि गरेर यस वर्ष एक्लै रु सात लाख कमाउनुभयो । कृषि गाउँका रुपमा परिचित विमका धेरै किसानले सुन्तला खेती गरेका छन् भने युवाहरु वैदेशिक रोजगारीमा छन् । तर विदेश नगईकन हर्कले सुन्तला खेतीमा नै आफ्नो भविष्य रोजेपछि अहिले उनी सफल पनि भएका छन । उनले भने, “विदेश गएका साथीहरु तीन/चार वर्षमा घर आउँदा हातमा ठेला र गोजीमा पाँच/६ लाख रुपैयाँ हुन्छ, मैले आफ्नै गाउँमा बसीबसी वर्षको ६/७ लाख रुपैयाँ आम्दानी गर्छु, किने जाने विदेश ?’

यी त केही प्रतिनिधि पात्रहरु मात्रै हुन् । पछिल्लो समय म्याग्दीमा व्यावसायिक कृषिको लहर चलेको छ । विशेष गरी युवाहरु कृषि र पशुपालनमा आकर्षित भएपछि म्याग्दीको ग्रामीण जीवनशैली नै फेरिएको छ । परम्परागत कृषिको ठाउँमा आधुनिक र व्यावसायिक कृषि प्रणालीको विकास हुँदै गएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दी र लघु उद्यम विकास समितिको एक तथ्याङ्क अनुसार म्याग्दीका करीब दुई सय युवाहरु व्यावसायिक कृषिमार्फत आफ्नो जीवनस्तर माथि उठाउन सफल भएका छन् । उनीहरुको कमाई युरोपियन र खाडी देशमा श्रम गर्ने नेपालीहरुको भन्दा बढी छ ।

विज्ञापन