सोमबार राती करिब ९ बजे प्रहरीको टोली बेनी नगरपालिका–७ मंगलाघाटमा लागु औषधको प्रयोगकर्ता बनेर प्रहरीको टोली पुग्दा मनोज खत्री र आशिष खत्रीको हात खुटा लुगलुग काम्दै थिए । डाईजेपाम, फेनोरागन र नुर्फिन किन्न आएको बताएपछि उनीहरुको गतिविधि अस्वभाविक देखिन्थ्यो । चिसो मौसम, सुनसान भइसकेको मंगलाघाटमा रातीको समयमा लागु औषधको कारोबार हुन्छ भन्ने सूचनालाई आधार मानेर प्रहरीले ग्राहकको परिचय दिएपछि दुवैजनाको बोली स्भावविक थिएन् ।

उनीहरूबाट माल फुत्किने मेसोमेलो नमिलेपछि प्रहरीले आफ्नो परिचय दिदैं घर खानतलासी गर्दा कोठामा लुकाइराखेको अवस्थामा डाईजेपाम १ सय ४ एम्पुल, फेनोरागन १ सय ४ एम्पुल, नुर्फिन १ सय ६ र सिरिन्ज २ थान बरामत गरेको छ ।

प्रहरीको नियमित पहुँच नहुने, साझपख सुनसान मौकामा विक्री वितरण गर्न सकिने भएकाले पनि कारोबारमा सहज हुने ठानेका खत्री दाजुभाईका बारेमा गोप्य सूचना पाएपछि सोमबार राती घरभित्रबाटै बरामद गरेको हो ।

पछिल्लो समय लागुऔषधका प्रयोगकर्ता ह्वात्तै बढेको प्रहरीले अनुमान लगाइरहेको अवस्थामा एउटै घरबाट एकैपटक ठूलो परिणाममा लागु औषध फेला पारेपछि प्रहरी नै चकित परेको छ। ‘उनीहरुले प्रहरी आए पनि फेला नपार्ने गरी लुकाउने प्रयास गरेको देखिन्छ,‘घरभित्र खोज्दैजाँदा प्रयोगकर्तालाई बिक्री गर्न तयारी अवस्थामा राखेको देखियो’ उनले भने ।

प्रयोकर्ता र कारोबारीले प्रयोग गर्ने शब्दहरू प्रहरीले प्रयोग नगरेपछि कारोबारकर्ताले चाल पाएको प्रहरी निरिक्षक धुब्र शर्माले बेनीअनलाइनलाई बताए ।‘सूचना प्राप्त गरेलगत्तै तयारी अवस्थामा थियौं,‘उनीहरूबाट प्रयोगकर्ताको सूची प्राप्त गर्ने प्रयास भइरहेको छ’ शर्माले भने । सानो–सानो मात्रामा बिक्री गर्दा थोरै लगानीमा धेरै कमाउन सकिने भएकाले पनि दुईतिनजना प्रयोगकर्ताले प्रयोग गर्ने गरेको शर्माको भनाई छ ।

उनका अनुसार डाईजेपाम, फेनोरागन र नुर्फिनलाई सिरिन्जमार्फत प्रयोग गर्ने गरिन्छ ।एउटा सिरिन्जले दुईजना प्रयोगकर्तालाई पुग्ने भएकाले प्रयोगकर्ताले साथी खोज्ने र सञ्जाल बनाउने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ । ‘पूरानोले नयाँ खोज्ने, विस्तारै उसैको खर्चमा आफुँले प्रयोग गर्ने गरेको भेटियो’ शर्माले भने ।

लागुऔषध प्रयोगकर्ताले धुलोको तुलनामा सस्तो हुने भएकाले सुईलाई नै रोज्ने गरेको बताए। म्याग्दीमा खैरो हेरोइनका नियमित प्रयोगकर्ता भेटिएका छैनन्। पछिल्लो आधादशक यताको तथ्याङ्कमा डाइजापाम, नुफिन, फेनारगन, नाईट्राजेपाम ट्याब्लेट जस्ता औषधिजन्य लागुऔषधको प्रयोगकर्ता र कारोबारी फेला परेको देखिन्छ । नयाँ प्रयोगकर्ताले कोर्ड नाम प्रयोग नगर्ने भएकाले पुरानालाई नै कारोबारीले रोज्ने गरेका छन् ।

जुत्ता, मोजा, सामान, पानी, ग्लुकोज, माखा जस्ता विभिन्न नाम प्रयोग गर्ने गरेको पाइएको छ । म्याग्दीका प्रयोगकर्ताले बागलुङ, पोखराका प्रयोगकर्ताबाटै कोर्ड नाम सिक्ने गरेको समेत प्रहरीको भनाई छ । ६ देखि १० कक्षासम्मका विद्यार्थी समेत कुलतमा फसेको अवस्थामा आवश्यक परार्मश सहित परिवारलाई समेत जिम्मा लगाइएको छ । यता सिमावर्ती भारतीय बजार रुपैडिहा लगायतका क्षेत्रमा १ सय रुपैयाँमा पाईने सेटलाई बेनीमा ३५ सयसम्म विक्री गरेको पाइएको छ । सिमा आसपासमा सजिलै पाइन्छ ।

म्याग्दीमा पाँचबर्षको तथ्याङ्क यस्तो छ
गएको आर्थिक बर्षको असारमा दुई युवती सहित वेनीबाट ६ जनालाई ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) सहित पक्राउ गरेको थियो । ट्राफिक प्रहरी नै कारोबारी बनेर पक्राउ परेका सबै लागुऔषध प्रयोगका साथै ओसारपसारमा समेत संलग्न थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीको पछिल्लो पाँच बर्षको तथ्याङ्कमा २०७२÷०७३ मा ८ जनाबाट डाइजेपाम ३७ फेरागन ३७, टालजेसिक ३७ गरी १ सय ११ एम्पुल बरामद गरिएको थियो । उक्त बर्षमा चारपटक लागुऔषध प्रयोगकर्ता विभिन्न स्थानबाट प्रहरीको फन्दामा परेका थिए ।

आर्थिक बर्ष २०७३÷०७४ मा ३ जनाबाट विभिन्न नाम गरेका २१ एम्पुल, आर्थिक बर्ष २०७४÷०७५ मा ५ जना सहित १ सय ८३ एम्पुलसँगै ९२० ग्राम चरेश समेत बरामत गरिएको प्रहरीको तथ्याङ्कले देखाउँछ । त्यस्तै आर्थिक बर्ष २०७५÷०७६ जिल्लामै सबैभन्दा धेरै लागु औषध बरामद गरिएको देखिन्छ ।

प्रहरीले डाईजेपाप, फेनागन,नोफिन ३ सय ३० एम्पुल, १ सय १६ ग्राम गाँजा, १७५० ग्राम गाँजा सहित १८ जनालाई पक्राउ गरिएको थियो। जिल्लाको ग्रामिण क्षेत्रबाट गाँजा र चरेस बजारमा ल्याउने र जिल्ला बाहिरबाट विभिन्न लागु औषध ग्रामिण क्षेत्रसम्म पठाउने सञ्जाललाई उक्त बर्ष प्रहरीले तोड्न सफल भएको दावी गरेपनि प्रयोकर्ता बढेसँगै लागुऔषधको कारोबार रोकिएको छैन् । प्रहरीले प्रयोगकर्ताको आशंकामा नियन्त्रणमा लिएकालाई पटकपटक सम्झाई बुझाई छोडिएको तथ्याङ्कले देखाउँछ ।

विज्ञापन