परम्परागत रुपमा लगाइने वर्षेबाली अन्तर्गतको मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन राम्रो हुन नसक्दा कृषकहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खाद्यान्न बालीले जीवन निर्वाह गर्न समेत मुस्किल परेपछि कृषक व्यावसायिकतातर्फ लागेका हुन् ।

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित राखु क्षेत्रका कृषकहरुले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । उनीहरुले १० वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यवसायिक रुपमा सुन्तलाजात फलफुल खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । पछिल्लो समय राखुका कृषकले व्यावसायिक सुन्तला खेतीलाई जोड दिएको बताए ।

उपल्लो र तल्लो राखुका करिब ६५ घरधुरीका कृषकहरुले व्यावसायिक रुपमा सुन्तलाजात फलफुल खेतीतर्फ कम्मर कसेर लागेका छन् । राखु क्षेत्रका एकजना कृषकले वर्षमा सुन्तला बिक्री गरेर झण्डै पाँचलाख रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गरेका छन् । न्युनतम पनि सामान्य कृषकले सुन्तला बेचेर १० हजारभन्दा धेरै आम्दानी गर्ने गरेको कृषक कुलबहादुर गर्बुजाले जानकारी दिए । भकिम्लीका कृषकहरु सुन्तला उत्पादन कृषक समूह बनाएर सामूहिक रुपमा अगाडि बढेका छन्भने वर्षेनी सुन्तला खेती फस्टाउँदै जान थालेको छ ।

राखुका कृषकहरुलाई व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित गर्नका लागि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदानमा सुन्तलाका बिरुवा तथा मलबिउको सहयोग, नर्सरी स्थापना र सुन्तला सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको थियो । स्थानीय जातको सुन्तला खेती गर्दै आएका राखुका कृषकहरुले गाउँकै नर्सरीबाट सुन्तलाका बिरुवा लगेर अन्य बगैंचा समेत निर्माण गरेका छन् । यहाँका कृषकहरुको आम्दानीको मुख्य स्रोत नै व्यावसायिक सुन्तला खेती बनेको छ । राखु क्षेत्रका सबै घरमा सुन्तला खेती गरिएको छ । भकिम्लीको राखुसहित मरेकलगायत स्थानमा पनि व्यावसायिक सुन्तला खेती गरिएको छ ।

थोरै लगानीमा गरेको सुन्तला खेतीले छोटो समयमा नै उत्पादन र राम्रो आम्दानी दिएपछि कृषकहरुको सुन्तला खेतीतर्फ आकर्षण बढ्दै गैरहेको छ । हिमाली जिल्ला म्याग्दी व्यावसायिक सुन्तला खेतीका हिसाबले अत्यन्तै राम्रो रहेको बताउँदै कृषि ज्ञान केन्द्र म्याग्दीका तत्कालीन बागवानी विकास अधिकृत भोजबहादुर थापाले यसअघि कृषि कार्यालयबाट सुन्तला बगैंचा तथा कृषकलाई अनुदान र नर्सरी स्थापनामा सहयोग गरिएको बताए । उनका अनुसार समुन्द्री सतहबाट म्याग्दी जिल्लाको १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ ।

विरुवा रोपेको ६÷७ वर्षमै सुन्तलाले उत्पादन दिने गरेको छ । भकिम्लीकी अगुवा कृषक मनकुमारी पुनले आफ्नो बगैंचामा २ सय ५० ओटा सुन्तलाका बोटहरु रहेकोमा २ सयवटा बोटले उत्पादन दिइरहेको जानकारी दिइन् । उनले आफूकोमा उत्पादन गरेको सुन्तला ३ वर्षदेखि काठमाडौंको बजारमा बिक्री गर्ने गरेको बताइन् । बोटमै प्रतिकेजी ६० रुपैयाँ पर्ने सुन्तला बजारमा पुगेपछि १ सय रुपैयाँभन्दा बढी मूल्य पर्ने गरेको बताइएको छ ।