बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, राक्सेमा भेटिएका दृष्टिविहिन जीतबहादुर कार्कीको हातमा सेतो छडि र सहयोग जुटाउने एउटा सानो झोला थियो। विहानै उठेर तातोपानी कुण्डमा सहयोग जुटाउन जाने गरेका कार्कीले धेरेजसो दिन रित्तै फर्किनुपर्छ। कहिलेकाँही तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी, स्थानीयबासीले दिएको सहयोग लिएर साँझपख घर फर्किने गरेका कार्कीको सडकमा यात्रा गर्दा शरीर थिलै–थिलो पर्ने र बेला–बेलामा खुट्टाले समेत राम्रोसँग नटेक्दैन् ।

सिंगामा आफ्नै भान्जाले दिएको घरमा बस्ने गरेका कार्कीले त्यहाँबाट तातोपानी पुग्न करिव दुई घण्टा लाग्छ भने फर्किन उत्तिकै समय लाग्छ । सदरमुकाम बेनी नजिक रहेको बेनपा–२ बगरफाँट बस्ने गरेका कार्कीले दैनिक गुजरा चलाउन समस्या भएपछि आफन्तको खोजीमा सिंगा पुगेका थिए । सडकको छेउ–कुना भेट्नासाथै सहजै आवतजावत गर्ने सक्ने भएको दृष्टिविहिन कार्कीले बताए ।

‘कहिलेकाँही ६ घन्टासम्मको पैदलयात्रा गरी माग्न पुग्छु,‘बाटोमै दिन वित्छ’ कार्कीले भने। उनले लौरोको सहाराले घिस्रिँदै तातोपानी बजारमा सहयोग जुटाउने जान गरेको बताउँदै केहीदिनमा ठाउँ परिवर्तन गर्ने बताए। दिनभरि वरपर पुगेर चामल र आर्थिक सहयोग माग्छन् अनि त्यसैले श्रीमति र आफ्नो दैनिकी चलाएका कार्कीले बिरामी हुदाँ भोकभोकै सुत्नुपर्ने बताए। निर्माणधिन अवस्थामा रहेको सडकमा हिलो,ढुंगा र अन्य निर्माण साम्रागीका कारण खुट्टामा चोट लाग्ने गरेको गुनासो गरे।

उनले विभिन्न ठाउँबाट आएका सडक मजदुरले समेत आफुँलाई चिन्ने गरेको बताए। ‘बाटोमा उनीहरुले पनि सहयोग गर्छन्, हिलो भएमा अर्को बाटो आउनु भन्छन्’कार्कीले भने।केहीदिन बगरफाँटबाटै सेतो छडि र श्रीमतिको सहयोगमा तातोपानी पुगेको बताउँदै एकै ठाउँमा माग्न जाँदा खासै सहयोग नजुट्ने देखेर तातोपानीको अल्ली परको बस्तीसम्म पुगेर १०–१५ घरमा खाद्यान्न,४–५ सय रुपैयाँ संकलन गर्ने गरेको बताए।

‘बगरफाँट जानै मन लाग्दैन, धन जोड्न नभई हातमुख जोड्न यो संघर्ष गर्नुपरेको छ’कार्कीले भने।श्रीमति बिरामी हुने भएकाले घरमै छोडेर सहयोग जुटाउन जाने गरेका कार्कीले विहानबेलुकी खान पुग्ने भए सहयोग माग्न छोड्ने बताउँछन्।‘हामीलाई दुईछाक खानेकुरा मात्रै भए पुग्छ,‘श्रीमतिको मायाँले संघर्ष गरिरहेको छु’कार्कीले भने ।

यता अपाङ्ताको क्षेत्रमा काम गर्ने संघसंस्थाले गाउँगाउँमा सरकार पुगेपनि अपाङ्ता भएकाको समस्यालाई प्राथमिकता दिन नसकिएको बताएका छन् । नेपाल राष्ट्रिय अपाङ महासंघका सचिवालय सदस्य सुरेन्द्र खत्रीले विगतमा अपाङ्गता, ज्येष्ठ नागरिक, दलित, जनजाति लगायत पिछडिएको समुदायलाई लक्षित गरी कुल बजेटको १५ प्रतिशज विनियोजन गर्ने गरिएपनि स्थानीय सरकारले बेवास्ता गर्ने गरेको बताए ।

आत्महत्याभन्दा संघर्ष नै मज्जा
खोजेर नल्याए बिहान–बेलुकी भोकै सुत्नु पर्ने अवस्थामा कार्की र उनकी श्रीमतिले धेरैपटक संसार छोड्ने योजना समेत बुनेका थिए।बिरामी अवस्थामा कुनै–कुनै बेला त कैयौँ छाक भोकै बस्नुपरेको सुनाउँदै कार्कीले आत्महत्या गरे दुख गर्ने नपर्ने भन्ने सल्लाह गरेपनि दुवैले मागेर नै जीवन चलाउने निर्णय गरेको बताए।

‘आत्महत्या गर्ने विचार गरेपनि त्यो विकल्प रोज्दा आत्मले शान्ति नपाउने सम्झिएर माग्नै हिड्छु’ कार्कीले भने । उनले नमागी खान पुग्दैन त्यसैले मागेरै आफ्नो र श्रीमतिको दैनिकी चलाउने बताए । रेडियोमा आफुँजस्तै समस्या भएका धेरैले आत्महत्या गरेको सुनेपनि त्यस्तो गर्न नहुने उनको भनाई छ । ‘कोहीले हप्काउँछन,‘मायाँ गर्नेहरुको भीड पनि धेरै छ’ उनले भने । मन पग्लनेहरुको साथले नै जीवन जिउन सजिलो भएको कार्कीको भनाई छ ।

विज्ञापन