बेनी नगरपालिका–६, जामुनाखर्ककी देवी सुबेदीले एकबर्षमा सपनामा तीनपटकसम्म जेठो छोरा कृष्ण घरमा आएको देखिन्।घर नजिकै आउने, आसपासमै खेल्ने, कहिलेकाँही भीरमा यात्रा गरेको देखेकी सुबेदीले छोरालाई विपनामा घर आएको देख्ने धोको छ । छोराको दुईवटा पोसर्पोट साइजको फोटो सिरानीमा हालेर सुत्ने गरेकी छन् । साँझरबिहान दियोमा बत्ती बाल्दा छोरालाई सम्झिन्छन् ।

हँसिलो अनुहार र जिज्ञासु स्भावका सुबेदी पेटमा समस्या देखिएपछि उपचारका लागि चितवन गएका थिए ।उपचारलगत्तै नारायणी रिर्सोटमा काम सुरु गरेका सुबेदी बि.श २०७५ साल असोज २४ गते दिउँसोदेखि बेपत्ता छन् । आफ्नो झोला, आवश्यक लत्ताकपडा समेत ब्यागमै छोडेर बेपत्ता भएका छोराको खोजीमा देवीले चितवन तथा आसपासका क्षेत्रमा पुगिन् ।

चितवनमै बस्ने बहिनी दुर्गा रेग्मीसँगै उनले प्रहरीदेखि विभिन्न क्षेत्रमा छोराको खोजी गरेपनि पत्ता लगाउन सकिनन्।‘सपनामा आउने छोरा एकदिन घरमै आउँछ भनेर बसेको छु,‘मलाई छोरा घर आए एकबर्षसम्मको भोक मेटिन्छ’ सुबेदीले बेनीअनलाइनलाई भनिन् ।

घरबाट चितवन उपचार र जागिरको खोजीमा पुगेको छोरा बेपत्ता भएपछि भोक र निन्द्रा हराएको उनको भनाई छ । ‘श्रीमान हुनुहुन्न, मेरो साहारा भनेको नै दुई छोरा हुन्,‘जेठो छोरा हराउँदा मुटु नै छियाछिया भएजस्तो महसुस हुन्छ’ उनले भनिन् ।

पहिले भारतमा रोजगारी गरेर फर्किएकाले भारतमै गएको हुनसक्ने भन्दै छोरा घर फर्किने आश मारेकी छैनन् । छोराजस्तै केही घर आसपासमा आएको देखेमा आँखा तन्काएर हेर्ने गरेकी देबीले बेनीअनलाइनको कार्यालयमा छोराको तस्वीर ल्याएर भाबुक हुदै खोजीकार्यमा सहयोगको याचना गरिन् ।

‘सपनामा देखिएपनि दिनभरी फोनमै हात राख्छु,‘आमा म यहाँ छु भन्ने खवर आउँछ भन्दाभन्दै साँझ पर्छ’ सुबेदीले भनिन् । म्याग्दी, पर्वत, चितवनमा नाम चलेका ज्योतिषीलाई चिना देखाउँदा समेत छोरा जीवितै रहेको उक्त ठाउँबाट पुरानै ठाउँमा काम गर्न गएको भन्ने बताउने गरेकाले ज्योतिषीको भनाई सम्झिएर आफ्नो छोरा घरफिर्तीको कामना गर्ने गरेको बताईन् ।

गाउँमा कक्षा १० सम्म अध्ययन गरी रोजगारको खोजीमा भारतमा पुगेर फर्किएपछि घरमै बसेका सुबेदीले चितवनमा गएपछि बेपत्ता भएका थिए । भारतमै रोजागारीको लागी गएकाले खोजीकार्य भारतमै गर्दा भेटिने सम्भावना भएकाले चितवतन प्रहरीमार्फत विभिन्न स्थानमा खोजी गरिएको आफन्तको भनाई छ ।