बेनी–जोमसोम–कोरला सडकमा कार्यरत मजदुरले तलबसुविधा पाएका छन् । राष्ट्रिय गौरवको आयोजना रहेको कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामा कार्यरत मजदुरले एकबर्षदेखिको बाँकी बक्यौता तलबसुविधान नपाएको भन्दै चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएपछि शर्मा यूनाईटेड जेभी अन्तरगत सडकमा कार्यरत मजदुरले १ करोड ३२ लाख प्राप्त गरेको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले बताए ।

शर्मा यूनाईटेड जेभीले १ करोड ३२ लाख उपलब्ध् गराएपछि मजदुरले रासन लगायतका अन्य खर्च कटाएर बाँकी बुझेर काम समेत छाड्न थालेका छन् । मजदुरको जिम्मा लिएका कोमबहादुर बुढामगर, महदेव बुढामगर, बेदबहादुर थापा, लोकेन्द्र बुढा,सेतेराम बिकले २ सय ५ जना मजदुरको ८५ लाख ५० हजार ६२ रुपैयाँ वितरण गरेका छन् । मजदुरले ठेकेदारको साइट कार्यालयमा तालाबन्दी समेत गरेका थिए भने लाइसेन्स रद्धको माग समेत गरेका थिए ।

मजदुरको तलबसुविधाका लागी प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले ठेकेदारलाई जेल हाल्ने चेतावनी समेत दिएका थिए । प्रजिअको लगातारको दवाबले मजदुरले बक्यौता तलबसुविधान दिन ठेकेदार बाध्य भएका थिए । ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ ।

विज्ञापन