नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तान अरुणा शाहीलाई पोखरामा नगद एक लाख सहित सम्मान गरिएको छ । पोखरा नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली महिला भलिबल टोलीलाई पहिलोपटक अन्तराष्ट्रियस्तरको उपाधी जिताउन तथा १३ औं साक खेलकुदमा रजत पदक दिलाउदै भलिबल खेलमा गरेको उच्च प्रदर्शनको कदर स्वरुप शनिबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नगद एक लाख सहित प्रशंसापत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

हरेक बर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली यूवालाई सम्मान गर्ने कार्यक्रम अन्तरगत विद्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले खेलक्षेत्रले राष्ट्रलाई नै चिनाउने भएकाले विद्यालयले आर्कषक नगद सहितको सम्मानले यूवालाई उत्कृष्ट कार्यमा अगाडी बढ्न प्रेरणा मिल्ने बताए ।

उनले प्रतिभा माविको जनशक्तीले नेपालका विभिन्न क्षेत्रमा प्राप्त गरेको सफलताले समेत उत्साहित भएको बताए । कार्यक्रममा राष्ट्रिय भलिबल संघका केन्द्रिय उपाध्यक्ष याम बहादुर गुरुङले नेपाली महिला भलिबलले देशकै प्रतिष्ठा उच्च बनाएको बताउँदै खेलाडीलाई सम्मानले थप उर्जा थपिने बताए।

सम्मान ग्रहणपछि शाहीले सम्मानबाट आफू हर्षित भएको बताईन्। उनले विद्यालयका विद्यार्थीहरुलाई पहिलो प्राथमिकता पढाईलाई दिएर सँगसँगै आफ्नो रोजाइको खेललाई अघि बढाउन आग्रह गरेकी थिईन् । सम्मान कार्यक्रमका विषेश अतिथि रघुगंगा गाउँपालिका वडा नं ३ का अध्यक्ष एवम् प्रबक्ता जिवनकुमार मल्ल, एशोएस गण्डकीका पुर्ब प्रधानाध्यापक मोहन खनाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अभिभावक र विद्यार्थीलाई बरिष्ठ प्रशिक्षक रविन कटुवाल र दृष्टिविहिन सृष्टि केसीले उत्पेरणात्मक अभिमुखीकरण कार्यक्रममार्फत विभिन्न विषयमा जानकारी समेत गरेका थिए । कार्यक्रमको अवसरमा हिसान कप कास्कीमा बास्केटबलमा प्रथम विद्यालयका कोच हेमन्त गुरुङ र भलिबलमा तृतिय स्थानमा ल्याउन सफल प्रशिक्षक तेजेन्द्र बानियाँलाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा पहिलो प्रयासमै त्रिभुवन विश्वविद्यालय टिचिङ शिक्षण अस्पतालमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल विद्यालयकी पूर्व छात्रा सुमिना गुरुङलाई ५० हजार नगद सहित सम्मान गरिएको कार्यक्रम संयोजक विद्यालयका सञ्चालक किरण सापकोटाले बताए ।

कार्यक्रम समापनको अवसरमा विद्यालयका अध्यक्ष नारायण पौडेलले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मानलाई निरन्तरता दिने बताए । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समाजका हरेक विधामा उत्कृष्ट बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए ।

विज्ञापन