म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड,उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको धौलागिरि निलगिरि हिमाल अनि विचमा समथर फाँट रत्नेचौरमा माघ–फागुनमा देखिने तोरीवारीको पहेलो दृश्यले जो कोहीलाई पनि आकर्षित गर्ने गरेको छ ।

तोरी खेतीको हबका रुपमा विकास हुँदै गरेको रत्नेचौरमा तोरी बारीमा रमाउनका लागि नै ठाउँठाउँबाट आन्तरिक पर्यटकहरु आउन थालेका छन् । बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर सिंगो गाउँनै पहेंलपुर भएको छ । तोरीबारीमा रमाउन अहिले रत्नेचौरमा बेनी,बागलुङ र कुश्माबाट युवायुवतीहरु आउन थालेका स्थानीय सुजन महतले बताए ।

रत्नेचौर अहिले पर्यटकीय गाउँको रुपमा समेत विकसित हुँदै गएको बेनी नगरपालिका वडा नं १ का अध्यक्ष टेकवहादुर रावलले बताए । राजा गिर्वाण युद्धको चिनो स्वरुप रहेको बूढो पोखरी,उत्तरतर्फ चाँदीभै टल्कने हिम श्रृङ्खला, पुर्वतर्फ कलकल बगेको नीलो कालीगण्डकी, दक्षिणतर्फ ढाडेनी खोला र त्यसको पारीपट्टि देखिने बागलुङको कुडुले,फेदी र धार्मिक पर्यटकीय स्थल पञ्चकोटले रत्नेचौर पुग्ने जो कोहीलाई पनि लोभ्याउने गरेको उनको भनाइ थियो ।

अहिले रत्नेचौर सवैको आकर्षणको केन्द्र बन्दै गएको छ । रच्नेचौरको फाँटमा गहुँ र तोरी झुलीरहेको छ । झुलीरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण भुली रहेका छन् । गहुँको हरियाली र तोरिको स्वर्णिम रङमा रत्नेचौर अत्यन्त आकर्षक देखिएको रच्नेचौरमा रमाउनका लागि पुगेका बेनीका शिव केसीले बताए । गाउँकोबीचमा रहेको खेती योग्य जमीनमा सबैले तोरी खेती लगाएका छन् ।

तोरी खेतीकै कारण रत्नैचौरमा प्रशस्त सम्भावनाहरु थपिएका छन् । ती सम्भावनाहरुमध्ये सवैभन्दा प्रवल भनेको पर्यटकीय सम्भावना नै रहेको स्थानीय युवा महेन्द्र बोगटीले वताए ।‘रत्नेचौरमा पछिल्लो समय धेरै आन्तरिक पर्यटकहरु आउन थालेका छन्,व्यवस्थित होटेल र लजको आवश्यकता देखिएको छ’ बोगटीले भने ।

तोरी खेतीकै कारण रत्नेचौरमा सम्भावनाहरुको वृद्धि हुँदै गएको भएपनि सरकारी निकायले तोरी खेती गर्ने किसानलाई कुनै सहयोग नगरेको किसानहरुको भनाइ रहेको छ । तोरी खेतीको लागि उपयुक्त ठाउँ भनेर चिनिने रत्नेचौरमा कृषि ज्ञान केन्द्रलेसमेत कुनै सहयोग नगरेकोमा स्थानीयको गुनासो रहेको छ ।

‘गाउँकोबीचमा पहेंलपुर तोरी फुलेको छ, यहाँ आउने आन्तरिक पर्यटक खुसी हुँदै फोटो खिच्ने गरेका छन्’ स्थानीय भरत खत्रीले भने ‘रत्नेचौरको सौन्दर्य देखेर सबै लोभिएका छन् तर सरकारी निकाय र सरोकारवालाहरु भने यसको विकासका लागि बेखबर बनेका छन् ।’

रत्नेचौरमा उत्पादन हुने तोरी तथा तरकारी खेती गर्ने किसानलाई वडा र नगरपालिकाबाट सहयोग गरिने वडाध्यक्ष टेकबहादुर रावलले बताए । ‘ेनगरपालिकाले १ वडा १ उत्पादन क्षेत्र कार्यक्रम अन्तर्गत रत्नेचौरलाई तोरी र तरकारी खेतीको लागि सिफारीस गरेका छौं’ उनले भने । रत्नेचौरलाई तोरी खेतीबाट पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयासहरु थालिएको वडाअध्यक्ष रावलले बताए ।

विज्ञापन