प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। काउन्टरको आइतबार एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गर्नुभएको छ । उहाँले सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा दिन अनुरोध गर्नुभयो ।

प्रशासनमा आउने सेवाग्राहीहरुले तोकेको राजस्व रकम काउन्टरमा जम्मा गर्न सक्छन् । कार्यक्रममा सहायक प्रजिअ महेश सुबेदी, जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका विनय थापा, निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी, म्याग्दी जेसीजका नवनिर्वाचित अध्यक्ष सुजन बरुवाल, राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीका प्रमुख सविन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा बागलुङ शाखा प्रबन्धक अमर बहादुर ज्योतीले राजश्व सेवालाई सहज बनाउन प्रशासनसँगै अन्य सरकारी निकायसँग समेत सहकार्य बताउनुभयो ।

उहाँले सेवाग्राहीले राजश्व बाहेक सानो आकारको रकम काउन्टरमा जम्मा र निकाल्न समेत मिल्ने बताउनुभयो । बेनी शाखाका निमित्त प्रबन्धक विनोद केसीले काउण्टरमार्फत प्रदान गरिने सेवा सहित सम्रग योजनाका बारेमा जानकारी गराएका थिए । जिल्लाको सदरमुकाम बेनी सहित सबै ५ वटै स्थानीय तहमा प्रभुको शाखा रहेको छ ।