गण्डकी प्रदेशमा कोरोना भाइरसको चिन्ता

0

भ्रमण वर्ष २०२० को शुभारम्भसँगै उत्साहित बनेका पर्यटन व्यवसायीहरुमा फेरि अर्को चिन्ता थपिएको छ ।डेंगु संक्रमणको महामारीपछि हिउँपहिरोको पीडाले थलिएका गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरु यतिबेला कोरोना भाइरसको सन्त्रासले चिन्तित बनेका हुन् ।

तर गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले पर्यटन व्यवसायीहरुलाई चिन्तित हुनु नपर्ने बताएका छन् ।पर्यटन मन्त्री लम्सालले भने–“गण्डकी प्रदेशमा कोरोना भाइरसको कुनै प्रभाव नै छैन । हामी सचेत हुनुपर्यो तर डराउनु पर्दैन ।”

पोखरा भित्रिने अधिकांश पर्यटकहरु छिमेकी मुलुक भारत र चीनका रहेका छन् । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिएसँगैं पर्यटन व्यवसायीहरु भ्रमण वर्षमा यसले नकारात्मक असर पार्ने भन्दै चिन्तित बन्न पुगेका हुन् ।

स्वास्थ्य निर्देशनालय पोखराको जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले गण्डकी प्रदेशमा कोरोना भाइरस नदेखिए पनि भोलिका दिनमा यो नभित्रियोस् भनेर सतर्कता अपनाइएको जानकारी दिए ।

चिनियाँ पर्यटकको संख्या बढी भित्रिने भएका कारण गण्डकी प्रदेशमा कोरोनाको त्रास बढी भएको भन्दै उच्च सर्तकता अपनाइएको छ ।यसरी प्रदेश सरकार र क्षेत्रिय जनस्वास्थ्य कार्यालय पोखराले कोरोना भाइरसको विषयलाई लिएर आम सर्वसाधारणलाई त्रासबाट मुक्त रहन आग्रह गरेको छ ।

Leave a Reply