पोल्याण्ड हिंडेका १७ नेपाली चार महिना अजरबैजानमा बन्धक

0

सर्लाही लालबन्दीका २९ बर्षीय लीलाराज थापाको पोल्याण्ड जाने सपना त्यतिबेला तुहियो, जतिबेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने । उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए । प्रतिमहिना सात सय युरो कमाउने सपना बोकेका उनले दलाललाई आठ लाख रुपैंयाँ बुझाएका थिए ।तर, उनले पोल्याण्ड टेक्नसमेत पाएनन् । चार महिनाको बन्धक जीवनपछि उनी ज्यान जोगाएर नेपाल फर्किएका छन् ।

डुबेको रकम उठाउने चक्करमा कहिले प्रहरी त कहिले बैदेशिक रोजगार विभाग धाइरहेका उनले भने, ‘वर्किङ भिसामा पोल्याण्ड लैजाने भन्यो । कमाइ प्रतिमहिना सात सय युरो हुने प्रलोभन दियो । यसका लागि आठ लाख रुपैंयाँ बुझाउनु पर्ने भन्यो । बेरोजगार हामी दलालको प्रलोभनमा फस्यौं । ऋण गरेर उसले मागेजति रकम दियौं । लगेर हामीलाई अजरबैजान पुर्‍यायो । चार महिना बन्धक बनाएर राख्यो । विभिन्न प्रयास गरेर हामी भागेर नेपाल फक्र्यौंं ।’

थापाका अनुसार बन्धक बनेका १७ नेपाली उनीजस्तै पोल्याण्ड नै हिंडेका थिए । यसबापत उनीहरुले पनि दलाललाई सात देखि आठलाख रुपैंयाँ तिरेका थिए ।तर, उनीहरुले पनि त्यही दुर्गति भोगे, जुन थापाले भोगे ।पोल्याण्ड लैजाने भन्दै अजरबैजान लगेर युवा अलपत्र पार्ने काभ्रे रोसीका ३८ बर्षीय राजकुमार भनिने गुणराज लामा हुन् । -नयाँ पत्रिका दैनिकबाट

Leave a Reply