म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीबाट १ करोडभन्दा धेरैको सुन्तला विक्री भएको छ। परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका भकिम्लीका विभिन्न गाउँबाट यसबर्ष १ करोडभन्दा धेरै सुन्तला निर्यात भएको छ ।

१० वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यवसायिक रुपमा सुन्तलाजात फलफुल खेती गरेर राखुबाट करिव ७० लाख हाराहारीमा सुन्तला विक्री भएको छ । त्यस्तै मरेक गाउँबाट २८ लाख, पानीस्वाँरा, जिमिरे, तोराखेत लगायतका बस्तीबाट ३० लाखको हाराहारीमा सुन्तला विक्री भएको कृषकले बताएका छन् ।

यसपटक भकिम्लीबाट १ करोड २८ लाखको हाराहारीमा सुन्तला विक्री भएको स्थानीय वडा सदस्य मनकुमारी पुनले बताईन् । सुन्तला कृषक समेत रहेकी पुनका अनुसार यसपटक राखुमा सन्तला उत्पादन ह्वात्तै बढेको बताईन् । ‘भाउ पनि राम्रो आएको छ,‘गाउँबाटै बिक्री हुन थालेपछि सबै मख्ख छन्’ उनले भनिन् ।

परम्परागत रुपमा लगाइने वर्षेबाली अन्तर्गतको मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन राम्रो हुन नसक्दा कृषकहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएपछि पछिल्लो आधादशक यता लगातार सुन्तला विक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् ।

उपल्लो र तल्लो राखुका करिब ६५ घरधुरीका कृषकहरुले व्यावसायिक रुपमा सुन्तलाजात फलफुल खेतीमा लागेको स्थानीय डेकबहादुर घर्तीमगरले बताए । उनका अनुसार राखुमा न्यूनतम २० हजारदेखि ३ लाखसम्म सुन्तला विक्रीबाट आम्दानी गरेका छन् । त्यस्तै मरेक गाउँबाट ११ जना कृषकले मनग्य आम्दानी गरेका छन् । मरेकका पदम बहादुर खत्रीले मात्रै ६ लाख २४ हजार आम्दानी गरेका छन ।

त्यस्तै कर्णकुमारी पुर्जा ५ लाख ३२ हजार, जमुना थापा ४ लाख २५ हजार सुन्तला विक्रीबाट आम्दानी गरेको स्थानीय अगुवा बिरबहादुर थापाले बताए । यसपटक भकिम्लीमा नयाँ बस्तीहरुबाट समेत धमाधम सुन्तला विक्री भइरहेको छ ।पानीस्वँरा, जिमिरे, तोराखेतका कृषकले समेत जिल्लाबाहिरसम्म सुन्तला बिक्री गरेका छन् । स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएका सुन्तलाहरू उत्पादन हुने भएकाले राखुको सुन्तलालाई पोखरा र काठमाण्डौको बजारमा सजिलै पुर्याउने गरिन्छ ।

मंसिर महिनादेखि माघको पहिलो सातासम्म टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने काममा ठेकेदारबाट स्थानीयले रोजगार समेत पाएको वडा अध्यक्ष पदम पुनले बताए । उनका अनुसार भकिम्लीलाई जिल्लामै सुन्तलाको पकेट क्षेत्र बनाउन आवश्यक प्राविधिक तथा अनुदान सहयोग माग गरिएको बताए । भकिम्लीको हावापानी, माटो सुन्तला उत्पादनका लागि राम्रो भएकाले स्थानीयले बर्षेनी हजारौं बोट विस्तार गर्ने गरेका छन् ।