गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दी पर्यटन र जलविद्युतमा प्रचुर सम्भावना भएको बताएका छन् । पर्यटन र जलविद्युत समृद्ध प्रदेशको आधार भएको बताउँदै म्याग्दीको पर्यटनको विकासमा प्रदेश सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

म्याग्दीको अन्नपूर्ण गाउपालिका–४, नारच्याङमा बिहीबारदेखि सुरु भएको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गदैं मुख्यमन्त्री गुरुङले जनताका आधारभुत आवश्यकता पुरा गदैं जलविद्युत र पर्यटन क्षेत्रमा केही बर्षमा देशकै उत्कृष्ट प्रदेशको रुपमा गण्डकी प्रदेश हुने समेत बताए ।

‘प्रदेश सरकार दशकै मुटु हो,‘प्रदेश सरकारले समस्यालाई समाधार गर्छ’ मुख्यमन्त्री गुरुङले भने । उनले संघीयताको बिरोधीले प्रदेश सरकारको आवश्यकता नभएको बताउने गरेको बताउँदै संघीय सरकारले अहिलेसम्म नदेखेका जनताका समस्याहरु प्रदेश सरकारले पुरा गरेको बताए ।

उनले प्रदेशभित्रका जनताका हरेक समस्याहरूको तथ्याङ्क रहेको बताए । जलविद्युत र पर्यटनमा प्रदेश सरकारले आफ्नो भिजन बनाइरहेको बताउँदै ग्रामिण पर्यटनमा विनियोजित बजेटलाई सम्भावनाका क्षेत्रमा खर्च गर्ने बताए । ‘हरेक जिल्लाका महत्वपूर्ण पर्यटकीयस्थलहरुलाई प्राथमिकता दिएका छौ,‘प्रदेशभित्रका उत्कृष्ट गन्तब्यमा बजेटको अभाव हुदैन’ उनले भने।

गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियान अन्तरगत बिजुली नपुगेको ९ प्रतिशत घरधुरीमा आउँदो एक बर्षभित्रमा सबैघरमा बिजुली पु¥याउने बताए । उनले प्रदेशभित्र करिव १० हजार मेगावाट क्षमताका जलविद्युत भएको बताउँदै चारहजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताए । खानेपानी आयोजनाका लागि ८० करोड र प्रदेश सरकारको पनि सोही बराबरको बजेट परिचालन भएको मुख्यमन्त्री गुरूङको भनाई छ ।

उनले नेपाल भ्रमण बर्ष २०२० मा गण्डकी प्रदेशका पर्यटकीयस्थल प्रमुख आर्कषण भएकाले उत्कृष्ट गन्तब्य छनौट भएकामध्ये चालु आवमा पदमार्ग निर्माणको लागि १८ करोडभन्दा धेरै विनियोजना भएको बताए । उनले महोत्सवको उद्घाट गर्न मात्रै नआएको बताउँदै नारच्याङदेखि अन्नपूर्ण हिमालको उत्तरी आधारशिविर जाने पदमार्गलाई सञ्चालनमा ल्याउन गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माणमा सघाउने बताए ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको १ सय १० वटा नयाँ पर्यटकीय गन्तव्यहरुमध्ये यस बर्ष ११ जिल्लामा ४ वटा क्षेत्रका दरले हरेकमा ४० लाख बजेट पूर्वाधार निर्माण सहितको योजना बनाउने बताए । प्रदेश सरकारको प्राथमिकता तोकेर गरेको लगानीले प्रतिब्यक्ती आय समेत आगामी पाँचबर्षमा दोब्बर हुने दावी समेत मुख्यमन्त्रीको थियो । सोही अवसरमा गाउँपालिकाले नारच्याङबाट अन्नपूर्ण आधार क्षेत्रमा जाने सुरक्षित गन्तब्य लगायत पर्यटकीय रुटको ब्रोसर र नक्सा समेत सार्वजनिक गरेको छ ।

महोत्सवको अवसरमा प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, नेकपाका अन्नपूर्ण गाउँ कमिटीका अध्यक्ष खड्ग गिरी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पर्यटन र जलविद्युतमा लगानीको अनुकुल वातावरण भएको बताएका थिए ।

गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजाको अध्यक्षता, उपाध्यक्ष केशमायाँ मगरको स्वागत र प्रवक्ता कृष्णप्रसाद बरुवालले महोत्सवको उदेश्यमाथि प्रकाश पारेका थिए । सोही अवसरमा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, स्थानीय तेज गुरुङ लगायतले मन्तब्य राखेका थिए। कार्यक्रममा गाउँपाकिलाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले सञ्चालन गरेका थिए । महोत्सवमा मौलिक झाँकी सहितको ¥याली प्रर्दशन गरिएको थियो भने विभिन्न विद्यालयले समेत सांस्कृतिक नाँच प्रस्तुत गरेका थिए ।

महोत्सवस्थलमा कृषि, पशुजन्य र घरेलु उद्योगका उत्पादनको प्रर्दशनी गरिएको छ । सोही अवसरमा वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन समेत गरिने अन्नपूर्ण यूवा क्लवका अध्यक्ष श्याम पूर्जाले बताए ।

उनका अनुसार पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने छ । गाउपालिकाले महोत्सवका लागि पन्ध्र लाख र खेलकुद प्रतियोगितालाई दश लाख रुपैयाँ बिनियोजन गरेको छ । सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेको क्षेत्रलाई गाउँपालिकाले प्राथमिता दिएर प्रचारप्रसारमा जुटेको छ ।