म्याग्दीको दुई प्राविधिक विद्यालयमा लायन्स क्लवले साढे ४ करोडको लगानीमा सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।भूकम्पपछिको पुनर्निर्माणमा सघाउने उद्देश्यले लान्यस क्लव अन्तराष्ट्रियले मालिका गाउँपालिका–७, विम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालय र बेनी नगरपालिका–८, तोरीपानीको गलेश्वर माविमा ८ कोठे भवन बनाइदिएको हो ।

म्याग्दीमा क्रियाशिल लायन्स क्लवमार्फत भुकम्पबाट प्रभावित विद्यालयमा लायन्सको मापदण्ड पुरा गरी दुवै विद्यालयमा साढे दुई करोडको दरले उपलब्ध गराइएको लायन्स क्लवका डिष्ट्रिक्ट कोचिफ एडभाइजर चन्द्रकुमार केसीले बताए ।

उनका अनुसार म्याग्दीमा विभिन्न चारवटा स्थानका विद्यालयमा पूर्वाधार निर्माण गर्ने योजना बनाइएपनि आवश्यक मापदण्डको अभावमा दुईवटा विद्यालयमा बजेट विनियोजन भएको बताए। दुईवटा प्राविधिक शिक्षा सञ्चालन गरेका विद्यालय भएकाले लायन्सको ठूलो सहयोग ल्याउन सफल भएको डेपुटी चिफ एड्भाईजर सन्तोष रावलको भनाई छ ।

उनले नवनिर्मित विद्यालयको भवनमा आवश्यक पर्ने फर्निचर सहितको सहयोग समेत लायन्समार्फत उपलब्ध गराउने बताए। उनका अनुसार लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालको तेस्रो क्याबिनेट बैठकको अवसरमा डिष्ट्रिक्ट गर्भनर इलेक्ट इन्दु लम्सालले उद्घाटन गर्ने बताए । उनका अनुसार सन् २००७ देखि लगातार लायन्स क्लवमार्फत शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न क्षेत्रमा ठूलो सहयोग प्राप्त भएको बताए ।

उनले तेस्रो क्याबिनेट बैठकको अवसरमा बेनी अस्पतालमा उपकरण सहयोग गर्ने कार्यक्रम रहेको छ । लायन्सले भवन बनाइदिएको दुवै विद्यालयमा विगत केही वर्षयता विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

आकर्षक नयाँ भवन पाउँदा स्थानीय अभिभावक समेत उत्साहित छन् । सुविधा सम्पन्न भवन पाएकाले पठनपाठनमा सहज भएको विद्यालयले जनाएको छ । लायन्सको पढाउँ अभियान अन्तरगत समेत विपन्न विद्यार्थीलाई छात्रबृत्ति सहितको सुविधा रहेको छ । गलेश्वर माविमा माध्यामिक तहमा जिल्लामै एकमात्र इन्जिनियरिङ कक्षा र किसानी माविमा कृषि जेटिए कक्षा सञ्चालन भइरहेको छ ।

विज्ञापन