म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटका क्रिस घिमिरे र हेलेन घिमिरे मेरिल्याण्डको रियल स्टेट ब्यापारमा चर्चित नाम हो । उनीहरुको ब्यबसाय ‘घिमिरे होम्स’ एउटा प्रतिष्ठित ब्रान्ड नै बनिसकेको छ ।

सन् २०२० को फेब्रुअरीमा यो जोडी मेरिल्याण्ड राज्यको ‘बाल्टिमोर रियल प्रोड्युसर’ म्यागेजिनका लागि ‘पावर कपल्स’ विशेषांकमा फिचर्ड भएपछि घिमिरे होम्स र घिमिरे दम्पतिको ब्यबसायिक जीवनको चर्चा अझै फराकिलो भएको छ ।

‘पावर कपल्स’ विशेषांकमा फिचर्ड भएको फोटो सार्बजनिक भएदेखि नै क्रिस र हेलेनलाइ बिभिन्न माध्यमबाट बधाई र शुभकामनाका संदेशहरु प्राप्त भईरहेका छन् ।

“हामीहरु सबैप्रति धन्यवाद र आभार ब्यक्त गर्दछौं ।” क्रिसले नेप्लिज डायस्पोरासंगको भेटमा भने । नेप्लिज डायस्पोराले ‘पावर कपल्स’ घिमिरे जोडी भेट्न जाँदा कार्यालयमा क्रिस मात्र भेटिए । “आफ्नै ब्यबसाय गरेका हौँ तैपनि हामीलाई राम्रो काम गरेको भनेर ‘रिकग्नाईज्ड’ गरियो । यो व्यवसायमा लागेर केहि राम्रो गरेछौं की ! भन्ने हामी दुवैलाई लागेको छ ।” क्रिसले भने ।

मेरिल्याण्डमा झन्डै ४० हजार रियल स्टेट एजेन्ट रहेको क्रिसको आंकलन छ । यिनै रियल स्टेट एजेन्टहरुको प्रचार प्रसार र प्रबर्दनमा ‘बाल्टिमोर रियल प्रोड्युसर’ म्यागेजिनले सहयोग गर्दछ ।

हरेक महिना बिशेष ‘थिम’ सहितको म्यागेजिन प्रकाशन गर्दछ । २०२० को फेब्रुअरी महिनाको लागी म्यागेजिनको मुख्य बिषयबस्तु ‘पावर कपल’ छ । अर्थात्, रियल स्टेट व्यवसायमा लागेका श्रीमान श्रीमतीको संघर्ष र सफलताका कथा(व्यथा र नालीबेली । घिमिरे होम्सको ब्यबसायिक सफलतामा हेलेन र क्रिसको ‘क्यामेष्ट्री’को चर्चा त्यहाँ गरिएको छ ।
५० दम्पतिको नोमिनेशन परेको थियो । जसमध्ये यो म्यागेजिनमा ७ दम्पतिको मात्र चर्चा गरिएको छ ।

‘रियल प्रोड्युसर’ले नोमिनेशन आव्हान गरेपछि ‘रियल प्रोड्युसर’ कै ग्राहक मध्येबाट आफ्ना फेलो सदस्यहरुको नोमिनेशन गरिदिनुपर्छ। अनि मात्र उनीहरुको माथि सोधखोज शुरु हुन्छ र योग्य भएपछी म्यागेजिनमा छापिन पाईन्छ । यी सबै प्रक्रिया पुरा गरेर घिमिरे होम्सको यो जोडी ‘रियल प्रोड्युसर’मा छापिन पुग्यो ।

यो व्यवसायमा जोडी भएर काम गर्दैमा पनि होइन, उनीहरुले हाम्रो नम्बर पनि हेरे । हामीले कति घर खरिदबिक्रि गर्यौं भन्ने कुराले पनि महत्व राख्यो ।” क्रिसले नेप्लिज डायस्पोरासंग भने ।घिमिरे होम्स मेरिल्याण्डको रियल स्टेट कारोबार गर्ने टप १०० रियल्टर भित्र पर्छ । साथै यो मेरिल्याण्डको टप ५ प्रतिशत रियल स्टेट एजेन्ट अन्तर्गत पर्न सफल भएको छ । यो जोडीको भेट १९९९ मा कलेजमा भएको थियो र परिचय चुनावी मैदानमा ।

दुबैजना बिदेशी बिद्यार्थी थिए । हेलेन फिलिपिन्सबाट आएकी र क्रिस नेपालबाट । कलेजमा पढ्दा इन्टरनेशनल क्लबको चुनाव भयो । उपाध्यक्ष पदमा तीनजना उठेका थिए, यी दुबैजनाले हार्ने पक्का भयो । हेलेनले क्रिसलाई चुनावमा नउठ्न आग्रह गरिन तर क्रिसले मानेनन । अन्ततस् दुवैजनाले हारे र तेस्रो साथीले जित्यो । त्यसपछि उनीहरु नजिक भए । चुनावमा छुट्टै उठेका हेलेन र क्रिस चुनाव हारेपछि मात्र एक भए ।

हारले जुटाएको यो जोडीलाई जीवनले भने जित नै जित दिएको छ । एकपछि अर्को सफलता हातमा परेको छ ।भईरहेको राम्रै जागिर छोडेर सन् २००५ देखि यो जोडीले शुरुका दिनमा ‘घर जग्गाको लोन’ सम्बन्धित ब्यबसाय गर्दथ्यो। २००८ देखि उनीहरुले घर जग्गा खरिद बिक्रिको काम शुरु गरे ।

त्यसपछि जमेको यो जोडीले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन ।मेरिल्याण्डमा घिमिरे होम्सले हजारौं ग्राहकलाई घर बिक्रि गरेर सेवा, सहयोग र व्यापार एकसाथ गरेको छ । “ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ। हामीलाई राम्रा प्रतिक्रिया आईरहेका छन।”क्रिस घिमिरेले भने ।

क्रिस घिमिरे बानाका पुर्ब अध्यक्ष हुन् भने बाल्टिमोरमा बन्दै गरेको हिन्दुबुद्ध मन्दिरका एक अगुवा र प्रमुख नेतृत्वकर्ता हुन् । बाल्टिमोर वरपरको हरेक सामाजिक कार्यमा उनीहरुको केहि न केहि संलग्नता देख्न पाईन्छ । नेपाली समुदायलाई सहयोग गर्न यो जोडी व्यवसायमा जस्तै सधै अग्रसर छन् ।तिन छोराका मातापिता हेलेन र क्रिसले एउटा रमाइलो र सुखी जीवन बिताएका छन् । साभार :.सतिश चापागाईं बाल्टिमोर/अमेरिका nepalesediaspora.com