‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ हुने भएको छ । बेनी नगरपालिकाको आयोजनामा आउँदो फागुन २ देखि ४ गतेसम्म बेनी नगरपालिका अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता गर्न लागिएको हो ।

शुक्रबार बेनपाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले नगर कार्यपालिकाको निर्णय अनुसार प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएका छन् । उनले प्रतियोगितामा बेनी नगरपालिका भित्रका मावि विद्यालयबाट सहभागी विद्यार्थीहरुबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुने बताए ।

प्रतियोगिताका संयोजक एवं नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कबड्डी र मार्सल आर्टका खेलहरु खेलाइने बताएका छन् । उनले प्रतियोगितामा विजेता विद्यालयलाई क्रमशः नगद ५० हजार, ३५ हजार २० रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए । उनले सर्वोत्कृष्ट खेलाडीलाई नगद तीनहजार पाँचसय र उत्कृष्ट खेलाडीलाई दुईहजार पाँचसय रुपैयाँसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि कुल १२ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलहरु बेनीको खुलामञ्चमा खेलाइने छ भने उद्घाटनको दिनमा विद्यालयहरुले झाँकीसहित ¥याली प्रस्तुत गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरेर तयारी अगाडि बढाइएको छ ।