महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आठौं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले विभिन्न व्यक्तिहरुलाई मुठ्ठीदान अभियानमार्फत आर्थिक सहयोग गरेको छ ।

संस्थामार्फत रुख काट्ने क्रममा गम्भीर घाइते भएका रघुगंगा गाउँपालिका–२, राखुभगवतीका अमित केसी र बेनी नगरपालिका–९, तोरीपानीका क्यान्सरपीडित शान्ति पौडेललाई सहयोग गरेको छ । यसैगरी पर्वतको जलजला–२, मल्लाजका मृर्गौलापीडित थलबहादुर बरुवाल र सगरमाथा आरोहणको तयारी गरेका बागलुङको जैमिनी नगरपालिका–४, का अमित केसीसहित उनीहरु सबैलाई क्रमशः पाँचहजार पाँचसय ५५ रुपैयाँका दरले सहयोग गरेको सहकारीले जनाएको छ ।

स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण गर्दै सहकारीका सल्लाहकार एवं बेनपाका उपप्रमुख सन्जु बरुवालले सहकारीले सुरु गरेको मुठ्ठीदान अभियान अत्यन्तै सराह्रनीय रहेको बताइन् । उनले सहकारीले आर्थिक कारोबार गर्ने मात्र नभई सामाजिक तथा मानवीय कार्यमा समेत सहयोगी भूमिका खेलिरहेको बताउँदै आपतविपद्मा परेका सबैलाई सहयोगी संघसंस्था र व्यक्तिहरुले सहयोग गरेर जीवन बचाउनुपर्ने बताएकी छिन् ।

सहकारीका अध्यक्ष ज्योती लामिछानेले सहकारी शेयर राखेर नाफा लिने मात्र नभई समग्र महिला वर्गको उत्थानमा लागिपरेको बताउँदै विभिन्न समस्या भोगिहरेका व्यक्तिहरुलाई सहयोग गर्ने गरिएको बताइन् । संस्थाका निवर्तमान अध्यक्ष जमुना आचार्यको विशेष उपस्थिति रहेको कार्यक्रम अध्यक्ष लामिछानेको अध्यक्षता, उपाध्यक्ष विष्णु गौतमको स्वागत र सचिव सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।