म्याग्दीको धौलागिरी सेञ्चुरी पदमार्गमा पर्ने रघुगंगा गाउँपालिका–६ रायखोरको विगट गाउँमा होमस्टे सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होमस्टे सञ्चालनका लागि निर्माण गरिएको सामुदायिक भवन निर्माणको नेपाली कांग्रेस म्याग्दीमा सभापति खम्बीर गर्बुजा र गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा गर्बुजाले विगट गाउँमा पनी होमस्टे सञ्चालन हुनु राम्रो कुरा भएको बताउदै होमस्टेलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष भण्डारी समृद्ध गाउँपालिका बनाउका लागि आफुहरु लागि परेको बताउदै दुर्गम गाउँका जनताको आयआर्जनमा सुधार नभए सम्म गाउँपालिका समृद्ध नहुने भन्दै त्यसका गाउँको सम्भावयता अध्ययन गरि त्यही अनुरुपका कार्यक्रमहरु ल्याएको बताए।

उनले गाउँपालिका भित्रका सम्भावनायुक्त क्षेत्रमा पूर्वाधार सहित पर्यटकलाई आर्कषित गर्ने बताए । कार्यक्रममा गाउँपालिका प्रबक्ता जीवनकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मी, नेपाली कांग्रेसका यूवा नेता ओम छन्त्याल लगायतको उपस्थिती रहेको थियो ।

सामुदायिक भवनमा पर्यटकलाई स्वागत गरि खाना, खाजा खुवाएर व्यक्तिका घरमा बाँडेर बस्ने व्यवस्था मिलाएको होमस्टेकी अध्यक्ष बेलमाया पुनले जानकारी दिईन् ।

उनले अर्गानिक खानाहरुमार्फत पर्यटकलाई आर्कषित गर्ने बताईन् । डिभिजन वन कार्यालयको १० लाख, रघुगंगा गाउँपालिकाको एक लाख ४२ हजार ६२२ र समुदायको दुई लाख ८६ हजार २४७ रुपैयाँ गरि कुल १४ लाख २७ हजार ८६६ रुपैयाँको लागतमा भवन निर्माण भएको हो। सात घर परिवार सामुदायिक होमस्टेमा आवद्ध भएको अध्यक्ष वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

होमस्टेले गाउँको विकासमा सहयोग पुग्ने उनको भनाई छ । मगर समुदायको बाहूल्य बसोबास भएको रायखोर गाउँको पृष्ठभूमिमा धौलागिरि हिमाल सहित रमणीय वातावरण देखिन्छ ।

स्थानीय खानाका परिकारको स्वाद चखाउने होमस्टे सञ्चालकको योजना छ । मगर कला र संस्कृति सहित धौलागिरी सेञ्चुरी पदमार्ग अन्तरगत आवतजावत गर्ने पर्यटकलाई होमस्टे निर्माणपछि सहज भएको छ । झिँ, पाखापानी, कोटगाउँ हुदै रायखोर पुग्न सकिन्छ । तीन वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघले पहिचान गरेको धौलागिरि सेञ्चुरी पदमार्गको रायखोर गाउँ एउटा बसाईस्थलको रुपमा चिनिन्छ ।

विज्ञापन