नेपाली नयाँ बर्ष २०७७ को पावन अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बहराइनले बृहत सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ । नेपालका वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगदार्थ ख्यातीप्राप्त कलाकारहरुको उपस्थितीमा अप्रिल १० तारिकमा कार्यक्रम गरिने एनआरएनए बहराइनका आइसीसी सदस्य लालप्रसाद पुनले जानकारी दिए।

मानमस्थित डेल्मुन होटलमा आयोजना हुने कार्यक्रममा चर्चित गायक प्रमोद खरेल,गायिका नम्रता सापकोटा, लोक गायक नविन पौडेल र डान्सर रविना भुजेल लगायतका कलाकार सहित बहराइनमा रहेका नेपाली गायक तथा कलाकारहरुको समेत प्रस्तुती रहने बताइएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गरेका आविष्कार केन्द्रका अध्यक्ष पुनको अभियानमा विश्वभर रहेका नेपालीले सघाइरहेका छन् ।

केन्द्रमार्फत अहिले काठमाण्डौ बाहेक पोखरा, चितवन लगाएत विभिन्न जिल्लामा काम भइरहेको छ । केन्द्रमा अहिले २० वटा प्रोजेक्ट संचालनमा छन् । चितवनमा कुखुराको दाना र माछापालन, पोखरा र विराटनगरमा पर्यटन, कृषिका क्षेत्रमा अनुसन्धान र काम भइरहेको छ ।