मङ्गला गाउँपालिकाले मानव मूत्र (पिसाब) संकलन गरी खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गर्दा उत्पादन बढ्न थालेपछि गाउँपालिकाका सबै वडामा प्रयोग गर्ने भएको छ । गाउँपालिकाको वडा नं ५ अर्मनको शिशु कल्याण माविमा प्रयोग गरेको संकलन गर्ने प्रविधि सफल भएपछि अन्य वडाहरूमा समेत अभियानको रुपमा सञ्चालन गर्ने तयारी सुरू भएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

शौचालयमा जर्किन राखेर विद्यार्थीले सोही जर्किनमा पिसाब गर्ने र त्यसलाई खेतबारीमा प्रयोग गर्दा उत्पादनमा बृद्धि भएपछि अर्मनका किसानले समेत घरमै संकलन सुरु गरेका छन्। गाउँपालिकाको वडा नं ५ मा अर्मन सिर्कुमको किसानी आधारभुत विद्यालय, वडा नं १ कुहुँको दिपशिखा मावि, वडा नं २ स्थित त्रिभुवन मंगला माविले प्रतिबद्धता जनाइसकेको गाउँपालिका अध्यक्ष रोकाको भनाई छ ।

त्यस्तै वडा नं ३ मा रहेको महेन्द्ररत्न माविमा समेत तालिम सञ्चालन गर्ने बताइएको छ। समुदायको प्रतिबद्धता अनुसार गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका बारेमा तालिमको तयारी समेत भइरहेको छ ।

यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले खेर जाने मूत्रको प्रयोगले सुन्तला, मकै, सिमी, काउली बन्दा लगायत कृषिजन्य उत्पादनमा बृद्धि भएको गाउँपालिकाका कृषि प्राविधिक शाखाका प्रमुख जगत बानियाँले बताउनुभयो । पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रसायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ ।