दशौ बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधी बुद्ध एकेडेमी बगरफाँटले जितेको छ । बेनी आवासीय माविमा रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न भएको खेलमको निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा बुद्ध एकेडेमीले ५–१ को जित निकाल्यो ।

अन्तिम अवसरमा जनप्रियका खेलाडीले पोष्ट बाहिर बल फालेपछि नतिजा बुद्ध एकेडेमीको पक्षमा पुगेको थियो । पहिलो हाफको तुलनामा दोस्रो हाफमा बुद्धले उत्कृष्ट प्रदर्शन गरेको थियो । बुधबार सम्पन्न सेमिफाइन खेलमा माउण्ट एभरेष्ट आवासीय माविलाई ०–१ गोल प्रहार गदैं बुद्ध एकेडेमी र धौलागिरी मावि सिंगालाई १ का बिरुद्ध ४ गोल प्रहार गदैं दरबाङको जनप्रिय मावि फाइनलमा पुगेका थिए ।

बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद २० हजार १११ र ११ हजार १११ रुपैया पुरस्कार प्राप्त गरेका थिए ।  प्रतियोगितामा उत्कृष्ट खेलाडी बुद्धका निराजन पुन, उत्कृष्ट गोलरक्षक बुद्धकै प्रशान्त जोशी, उत्कृष्ट डिफेन्डर रोभिन तामाङ, उदयीमान खेलाडी माउण्ट एभरेष्टका बिकल छन्त्याल, सर्वाधिक गोलकर्ता जनप्रिय माविका करन पुन, उत्कृष्ट कोच बुद्धका सोनम लामा, अनुशासित टिम धौलागिरी मावि, उत्कृष्ट मिडफिल्डरमा बुद्धका निराजन पुन घोषित भएका थिए।

विजेता, उपविजेता तथा विभिन्न विधामा उत्कृष्टलाई विद्यालयका निर्देशक एवम् संविधानसभाका सदस्य रेशम बहादुर बानियाँ, वडा नं ८ का सदस्य हिरा पुन, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण शर्मा लगायतले सम्मान गरेका थिए । बेनीमा अन्तर आधारभुत विद्यालय स्तरीय प्रतियोगितामा बेनी बोर्डिङ कप निकै लोकप्रिय छ ।