देशको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यसहित राष्ट्रिय आविष्कार केन्द्र खोलिएको छ । केन्द्रले कृषि, शिक्षा, बायोमेडिकल लगायत क्षेत्रमा अनुसन्धान गरिरहेको छ । तर, युवा तथा विद्यार्थीहरुका लागि प्लेटफर्म बनेको केन्द्रमा राज्यको भने सहयोग देखिँदैन ।

त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको यस आविष्कार केन्द्रको लक्ष्य सीप तथा क्षमता भएका विद्यार्थी विदेश पलायन नहाेउन् र स्वदैशमै केही गरुन भन्ने हो । केन्द्रमा हाल ४० भन्दा बढी विद्यार्थीहरु विभिन्न आविष्कारमा केन्द्रित छन् ।इन्जिनियरिङ पढेका र प्रविधिका क्षेत्रमा ज्ञान तथा क्षमता भएका विद्यार्थीहरु आफैँ यस आविष्कार केन्द्रमा अध्ययनका साथै कामदार र आविष्कारक बनेर कार्य गर्न आउछन् । उनीहरुका लागि आविष्कार केन्द्र गतिलो प्लेटफर्म बनेको छ ।

आविष्कार केन्द्रमा विद्यार्थीहरुले तरकारी ताजा राख्नका लागि सब्जीकोठी, दुर्गममा मेडिकल सामग्री पुर्याउनका लागि ड्रोन, बाँदर भगाउने मेसिन बनाइसकेका छन् । त्यसैगरी विद्युतीय सवारी निर्माण लगायतका काम हुँदै आएको छ ।

आविष्कार केन्द्रले आविष्कारका लागि योगदान दिइरहेको भए पनि सरकारले भने खासै वास्ता नगरेको केन्द्रका सञ्चालककाे गुनासाे छ । विकसित मुलुकहरुमा प्रविधिमा धेरै लगानी भइरहेको भए पनि नेपालमा भने सरकारको साथ सहयोग नपाएको केन्द्रका अध्यक्ष महावीर पुनकाे दुखेसाे छ ।

युवाहरुलाई विशेष प्राथमिकता दिइरहेको यस आविष्कार केन्द्रमा हाल ४७ वटा प्रोजेक्ट सञ्चालनमा छन् । जनस्तर र विदेशीको सहयोगमा करिव आठ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । स्वदेश तथा विदेशमा रहेका नेपाली र विदेशीहरुको सहयोगमा केन्द्रको स्थापना गरिएको बताइएको छ । Source: News24nepal.tv