१० वर्षमा बन्यो दुखुखोला आरसिसी मोटरेबल पुल, मन्त्रीले गरे उद्घाटन (तस्विरसहित)

0

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौर र मालिका–६, दरबाङ जोड्ने दुखु खोलामाथि निर्माणसम्पन्न आरसिसी मोटरेबल पुलको उद्घाटन भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीको आयोजनामा सोमबार एक कार्यक्रम गरी पुलको उद्घाटन गरिएको हो । २०६८ सालमा तत्कालीन ड्रिलीप आयोजनामार्फत निर्माण सुरु भएको पुल विविध कारणले गर्दा झण्डै १० वर्षको अवधिमा आएर निर्माणसम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीले पूर्वाधार विकास कार्यालयलाई पुल निर्माण गर्न हस्तान्तरण गरेपछि मात्रै पुल निर्माणकार्यले गति लिएको थियो । कुल दुई करोड छ लाख १२ हजार सातसय ३९ रुपैयाँको लागतमा कार्यसम्पन्न पुलको लम्बाई २० मिटर र चौडाई ६ मिटर रहेको छ । सोमबार पक्की मोटरेबल पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले अब पुल बन्नका लागि १० वर्षको समय नलाग्ने बताए ।उनले केन्द्र सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका ४४ ओटामध्ये १९ पक्की मोटरेबल पुल निर्माण गरिएको जानकारी दिए ।

अब प्रदेश सरकारले बनाउने मोटरेबल पुल ८ मिटरको हुने र त्यसमा मानिस हिँड्ने पेटी समेत बनाइने मन्त्री बस्नेतको भनाइ छ । कार्यक्रमको अवसरमा पुल निर्माण कम्पनी स्वच्छन्द गौचन जेभी पोखराका प्रतिनिधि प्रकाश बानियाँ र जग्गादाता जितेन्द्र पुनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व सांसद नवराज शर्मा, गण्डकी प्रदेशका सदस्य विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, मंगलाका अध्यक्ष शतप्रसाद रोका, मालिका अध्यक्ष श्रीप्रसाद रोका, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेपाली कांग्रेसका जिल्ला सचिव मिनबहादुर कार्की र राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्माले मन्तव्य राखेका थिए । पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाको अध्यक्षता र प्रशासन अधिकृत बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा इन्जिनियर सन्तोष अर्यालले पुल निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply