परीक्षाको मुखमा राष्ट्रपति खेलकुद प्रतियोगिता

0

बेनी नगरपालिका–३ जयन्ती माविकी जेनिशा छन्त्यालले माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तयारी छोडेर करिब पाँचदिन खेलकुद अभ्यासमा जुटिन्। ट्युसन सहित तयारी कक्षालाई छोडेर अभ्यासमा जुटेकी छन्त्यालले नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयबाट एथ्लेटिक्सका विभिन्न विधामा सहभागी भईन्।

छन्त्यालसँगै विद्यालयमा कक्षा १० मा अध्ययनरत १० जना विद्यार्थीले आसन्न एसइइ परीक्षाको तयारी कक्षालाई चटक्कै छोडेर प्रतियोगितामा पदक जित्ने गरी अभ्यासमा जुटेपनि अपेक्षा गरेजस्तो खेल देखाउन सकेनन् । विद्यालयमा आवासीय सुविधामा राखिएको विद्यार्थीलाई दोस्रो राष्ट्रपति प्रतियोगिताले करिब दुई साता पढाईमा असर ग¥यो।
परीक्षाको मुखमा प्रतियोगिताको आयोजना गरेपछि विद्यार्थीको पढाईमा असर गरेको भन्दै अभिभावकले नै चासो देखाउ थालेका छन्।

आइतबार सम्पन्न प्रतियोगितामा बेनी नगरपालिका भित्रका १० वटा वडाका विभिन्न २४ विद्यालयले सहभागिता जनाएपनि अधिकांसले निकै कम पदक जित्न सफल भए। विद्यार्थीको ध्यान कसरी राम्रो नतिजा ल्याउने भन्नेमै केन्द्रित हुनुपर्ने बेलामा खेलकुदमा सहभागी रहर नभई बाध्यता भएको बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए ।

‘परीक्षाको तयारीमा ब्यस्त हुनुपर्ने समय हो,‘खेलकुदले शैक्षिक क्यालेन्डर नै प्रभावित भएको छ’ प्रअ श्रेष्ठले भने । उनले खेलकुद गतिविधिलाई विद्यालयले प्राथमिकता दिएपनि परीक्षााको मुखमा हुने खेलले शैक्षिक गतिविधिलाई नराम्रोसँग असर गर्ने भएकाले आगामी बर्ष तालिकामा ब्यापक हेरफेर गर्नुपर्ने बताए ।

बेनी नगरपालिका शिक्षक महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले पुस महिनाभित्र पालिका तथा जिल्लास्तरीय खेलहरु सम्पन्न गर्ने गरी कार्यतालिका बनाउनुपर्ने बताए । बेनी नगरसँगै जिल्लाका गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकले समेत परीक्षाको तयारीमा जुट्नुपर्ने अवस्थामा विद्यार्थीलाई प्रतियोगितामा सहभागी बनाउनुपर्ने अवस्थाले असहज भएको बताएका छन् ।

‘अस्वाभाविक र असान्दर्भिक तालिकाले पढाईमा असर गर्नेछ,‘कमजोर विद्यार्थीलाई झनै गा¥यो हुन्छ’ एक प्रधानाध्यापकले भने। परीक्षाको करिब दुईमहिना अधिकांश विद्यार्थीका लागि तनावपूर्ण हुने गर्छ । जुनसुकै तहको परीक्षाको तयारी गरिरहेका विद्यार्थीको तयारीमा कुनै कमी हुन नदिने गरी विद्यालयको शैक्षिक तालिकालाई सहज हुने गरी खेलकुद सहित अन्य क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने दिपशिखा मावि कुहुँका प्रधानध्यापक डा. नन्दबहादुर खत्रीले बताए।

‘शैक्षिक सत्रको अन्तिम महिनामा खेलकुद प्रतियोगिता विद्यार्थीलाई हानिकारक हुन्छ,‘खेलमा सहभागी विद्यार्थी बिरामीको जोखिम पनि हुन्छ’ डा.खत्रीले भने।उनले पालिका, जिल्लास्तरीय प्रतियोगिता एकै समयमा हुँदा तयारीमा समेत समस्या हुने भएकाले मंसिर महिनामा खेल सकिने गरी कार्ययोजना बनाउन सुझाव दिए ।

चैत्र महिनामा एसइई सहित विद्यालयको बार्षिक परीक्षा हुने भएकाले विद्यार्थीले खेलमा ध्यान केन्द्रित गर्दा नजितामा असर गर्ने सरोकारवालाको भनाई छ। दशैतिहार लगत्तै मंसिर महिनामा पालिका, जिल्लास्तरीय खेललाई सक्ने गरी तालिका बनाउन सकेमा विद्यार्थीले प्रतिस्पर्धाका लागि समेत आवश्यक अभ्यास गर्र्न पाउने, दशैंतिहारको बीचको समयमा समेत खेलकुद गतिविधिमा विद्यार्थी केन्द्रित गर्न सकिने जनप्रिय मावि दरबाङका प्रधानाध्यापक दिवाकर सुबेदीले बताए ।

चाडपर्वको समयमा मानिसको ध्यान रमाइलोमा केन्द्रित भएको बेलामा विद्यार्थीले खेलकुदमा समय दिन सक्ने उनको भनाई छ । वार्षिक पाठ्यक्रम जेनतेन मेहनत गर्ने अवस्थालाई अन्त्य गर्न शैक्षिक तालिका अनुसारको गतिविधि सञ्चालनमा सहज वातावरण बनाउनुपर्ने प्रअ सुबेदीले बताए । विगतका बर्षमा परीक्षाको मुखमा भएका खेलकुद गतिविधिले परीक्षाफलमा असर गरेको समेत विद्यालयले जनाएको छ ।

जिल्लामा धवलागिरी गाउँपालिकाले पुषको अन्तिम साता र मालिका गाउँपालिकाले माघ तेस्रो हप्ता सम्पन्न गरेको थियो । मंगला र रघुगंगा गाउँपालिले शनिबार र बेनी नगरपालिकाले आइतबार सम्पन्न गरेका छन भने अन्नपूर्णमा प्रतियोगिता जारी छ ।

अन्नपूर्णको प्रतियोगिता सकिएलगत्तै फागुन ७ र ८ गते बेनीमा जिल्ला स्तरीय रनिङ्ग शिल्ड आयोजना गरिएको छ । हतार–हतारमा गरिएको प्रतियोगितामा विद्यार्थीले प्रयाप्त अभ्यास नहुदाँ खेल देखाउन नसक्ने खेलाडीको भनाई छ । भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आटका खेलाडी शाररीक रुपमै केही दिन थकित हुने गरेको अवस्थामा पालिका र जिल्लास्तरीय खेल लगातार आयोजना गर्दा खेलाडीलाई परीक्षाको समयमा थप मार पर्ने देखिन्छ ।

Leave a Reply