यूएईको दुबईमा एक नेपाली महिला मानसिक सन्तुलन गुमाएको अवस्थामा भेटिनु भएको छ । कतैै तपाई‌ले उहाँलाई चिन्नु पाे भएको छ कि ? अरबी भाषा प्रष्ट बोल्न जान्ने ती महिलाको नाम यामकुमारी थापा र उमेर ४६ वर्ष भएको स्थानीय सामाजिक अभियन्ता लैला अबु बकरले जानकारी दिनुभएको छ । नेपालमा उहाँको ठेगाना र दुबईमा काम गर्ने ठाउँबारे कुनै पत्तो लाग्न सकेको छैन ।

सामाजिक अभियन्ता बकरकाअनुसार यमकुमारीले २०१९ को अक्टोबरमा दुबई अस्पतालमा मस्तिष्कको शल्यक्रिया गर्नुभएको थियो । त्यसपछि यामकुमारी अस्पतालमै हुनुहुन्छ । याम कुमारीको आफन्त तथा साथीभाइ कसैसँग पनि सम्पर्क छैन । रोजगारदाता व्यक्ति पनि अस्पतालमा नआएको बकरले जानकारी दिनुभयो । गएको चार महिना देखि यामकुमारीलाई आफन्त, साथीभाइ तथा रोजगारदातासँग भेटाउन प्रयास गरिरहे पनि कोहीसँग सम्पर्क हुन सकेको छैन ।

बकरले गल्फ न्यूजसँग बताएअनुसार यामकुमारीलाई अक्टोबरको तेस्रो हप्ता अचेत अवस्थामा एम्बुलेन्समा राखेर दुबई अस्पताल पुर्याइएको थियो । ल्याउनेबेला अचेत अवस्थामा भए पनि होश आइसके पछि यामकुमारीले बान्ता गरिरहने र टाउको दुख्ने गरेको बताउने गरेकी थिइन् । मेडिकल रिपोर्टअनुसार मस्तिष्कमा रक्तश्राव भएको देखिएको छ । अहिले पनि यामकुमारीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या छ ।

सामाजिक अभियन्ता बकरका अनुसार फेब्रुअरी १७ अर्थात आज सोमबार यामकुमारीको अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने हो। तर कोही पनि सम्पर्कमा नआएपछि यामकुमारीलाई आफूसँगै राख्नुबाहेक अरु कुनै उपाय नभएको बकरले बताउनु भएको छ। यामकुमारीले आफ्नो एउटा छोरा छ भन्नेबाहेक अरु केही जानकारी दिन सक्नु भएको छैन ।

यामकुमारीले दुबईमै एक अरबी परिवारमा घरेलु कामदारको रुपमा काम गरेको हुनसक्ने अनुमान गरिएको छ। अहिले सामाजिक अभियन्ता लैला अबु बकरले यामकुमारीलाई नेपाल पठाउन दुबईमा रहेको नेपाली दूतावाससँग सम्पर्क गर्ने प्रयास गरिरहनु भएको छ।