धवलागिरी गाउँपालिका–७ धारापानीस्थित किसानी माविका सचिन बिकले मंगलबार हतार–हतारमा कक्षा १० को टेस्ट परीक्षा दिएर छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा गाउँपालिकाबाट सहभागी हुन बेनीतर्फ प्रस्थान गरे । उनीसँगै कक्षा १० का मोहन बिक, रुप बहादुर विक समेत एथ्लेटिक्सका खेलमा सहभागी भए । तीन विद्यार्थी खेलमा सहभागी हुन जानुपर्ने भएपछि विद्यालयले परीक्षा नै स्थगित गरेको छ ।

अंग्रेजी, गणित र नेपालीको परीक्षा दिएका खेलाडीले जिल्लास्तरीय खेलमा सहभागी हुन पर्ने भएपछि विद्यालयले आगामी स्थगित परीक्षालाई आइतबारदेखि सञ्चालन गर्ने भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सकिदाँ वित्तिकै जिल्लाको खेलकुदमा सहभागी हुन बेनी आएका छन् । ‘खेलाडीलाई खाने फुर्सद पनि छैन्,‘हतारहतारमा खेल्दा खेल पनि राम्रो भएको छैन’ एक शिक्षकले भने ।

एसइइ परीक्षाको तयारीमा जुट्नुपर्ने खेलाडीलाई पालिकादेखि जिल्लास्तरीय खेलकुदमा दिनुपर्ने समयले पढाई र परीक्षा डामाडोल भएको शिक्षकको गुनासो छ। ‘सहभागीता रहर नभई बाध्यता बनेको छ,‘खेलमा सहभागी भएका बिरामी हुन्छन भन्ने चिन्ता छ’ मुक्तिमार्ग मावि घारका शिक्षक ठकराज बरुवालले बेनीअनलाइनलाई भने ।

उनले प्रतियोगिता आवश्यक भएपनि कार्यतालिका विद्यार्थी अनुकुल नभएको बताए । प्रतियोगितामा खेलाडीसँगै आएका जनप्रतिनिधिले समेत आगामी बर्ष खेलकुदमा थप योजना सहित अगाडी बढ्नुपर्ने अवस्था आएको बताएका छन् ।परीक्षाको मुखमा खेलकुद प्रतियोगिता सञ्चालन बारे बेनीअनलाइनले समाचार प्राथमिकताका साथ प्रकाशित गरेपछि केही गाउँपालिकाले कार्यताकिालाई मंसिर महिनामै सम्पन्न गर्ने योजना बनाएका छन ।

एसइइ परीक्षा आउन १ महिना पनि नभएको अवस्थामा विद्यार्थीलाई खेलकुदमा सहभागी बनाएको भन्दै अभिभावकले समेत परीक्षालाई असर गर्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । यता खेलकुदको कार्यतालिका बारेमा प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले समेत फेरबदल आवश्यक रहेको भन्दै चासो देखाएका छन् ।