म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा बुधबार छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाट अगावै बेनी नगरपालिकाले मार्सल आर्ट अन्तरगतका खेलहरूमा बेनी नगरपालिकाबाट सहभागी खेलाडीहरू निर्विरोध भएका थिए । जिल्लाका पाँचवटा स्थानीय तहका विद्यालयका खेलाडीलाई यो विधाका बारेमा जानकारी छैन भने प्रतियोगितामा प्रतिस्पर्धाका खेलाडी समेत नहुदाँ बेनी नगरले एक्लौटी ढंगले वर्चश्व जमाउन सफल भएको थियो।

प्रतियोगिताको उद्घाटन अगाडी नै बेनी नगरपालिकाले १८ स्वर्ण, १८ रजत र १८ काँस्य पदक जितेको थियो । स्वर्ण, रजत र काँस्य गरी ५४ पदक सहित प्रतियोगितामा बेनी नगरपालिकाले अग्रता लिनुलाई गाउँसम्म मार्सल आर्टका खेलहरू सञ्चालन नहुनु प्रमुख कारण हो । मार्सल आर्ट अन्तरगत पर्ने उसु, कराँते र तेक्वाण्डोका खेल बेनीबजारका निजी तथा सामुदायिक विद्यालयमा मात्रै सञ्चालन हुदाँ नगरपालिकाभित्रका ग्रामिण क्षेत्रमा रहेका विद्यालयले समेत नगरस्तरीय प्रतियोगितामा पदक विहिन हुनुपर्ने अवस्था रहेको छ भने जिल्लाका पाँचवटै गाउँपालिकाले जिल्लास्तरीय प्रतियोगितामा निराशजनक नतिजाको सामना गर्नुपरेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कवडड्ीका खेलमा बजारका विद्यालयबीच कडा प्रतिस्पर्धा हुने गरेपनि मार्सल आर्टका खेलहरु ग्रामिण क्षेत्रका विद्यालयको प्राथमिकतामा नपर्दा प्रतियोगितामा औपचारिकता मात्रै हुने गरेको गुनासो विद्यालयका शिक्षकहरुले गर्ने गरेका छन् । ‘मार्सल आर्टका बारेमा विद्यार्थीलाई समान्य जानकारी पनि छैन्,‘यस्तै प्रक्रियाबाट आगामी दिनमा सहभागी हुनुको औचित्य छैन’ एक शिक्षकले भने ।

बजार क्षेत्रमा मार्सल आर्टका खेलले प्राथमिकता पाएपनि ग्रामिण क्षेत्रमा नपाउनुले जिल्लास्तरीय प्रतियोगितामा नतिजा सुन्य जस्तै हुने गरेको बताउँदै आगामी बर्षमा विद्यालयस्तरमा मार्सल आर्टको शिक्षकको ब्यवस्था गर्नुपर्ने बहस समेत सुरु भएको छ । पदक संख्या नै धेरै भएकाले मार्सल आर्टका खेलहरुलाई जिल्ला स्तरीय खेलमा सहभागी बनाउने भए पालिकास्तरबाट समेत बजेट सहित प्रोत्साहनको कार्यक्रम आवश्यक रहेको दिपशिखा माविका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बताए।

‘मार्सल आर्टका खेलको विकल्प छैन्,‘खेलाडीको आत्मरक्षाका लागि पनि आवश्यक छ’ खत्रीले बेनीअनलाइनलाई भने । राष्ट्रिय अन्तराष्ट्रियस्तरका खेलहरूमा समेत लोकप्रिय रहेको खेल विधालाई विद्यालयस्तरमा सञ्चालन गर्न सकेमा छात्रछात्राले आत्मरक्षासँगै खेलकुदमा समेत नयाँ खेलाडीहरुको पहिचान हुने बताए । मार्सल आर्ट लाई विज्ञान र कला को मिलन मानिन्छ । दोस्रो बेनीनगरपालिकास्तरीय प्रतियोगितामा मार्सल आर्टलाई प्राथमिकता दिएकै कारण बालमन्दिर आधारभुत विद्यालय तेस्रो स्थानमा आएको थियो ।

उसुमा तीनवटा स्वर्ण र १ रजत नै बालमन्दिरका लागि प्रतियोगितामा नयाँ रेकर्ड कायम गर्ने एउटा बलियो आधार बनेको थियो । बेनीबजारभित्रकै माध्यामिक विद्यालयलाई समेत बालमन्दिरले उछिन्नुको कारण नियमित उसुको प्रशिक्षण र विद्यालयको प्राथमिकतामा परेको खेल भएको मार्सल आर्ट प्रशिक्षक विरेन्द्र श्रेष्ठको भनाई छ।स्थानीय सरकारले खेलकुद प्रशिक्षकसँगै मार्सल आर्ट खेलको अनुभव भएकालाई विद्यालयमा नियुक्ती गर्ने वातावरण बनेमा यो खेलमा ग्रामिण क्षेत्रमा लुकेका खेलाडीहरुको समेत पहिचान हुने खेल प्रशिक्षकको भनाई छ । file photo