प्राकृतिक उपचारको चिकित्सालयका रुपमा विकसित हुँदै गैरहेको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा बहुउद्देश्यीय भवनको बिहिबार एक कार्यक्रमका बीच शिलन्यास गरिएको छ । नेपालकै नमुना र अत्याधिक बिरामीको चापका कारण आवश्यक पूर्वाधार निर्माणमा तिब्रता दिएको कुण्ड ब्यवस्थापन समितिलाई पर्यटन मन्त्रालयबाट प्राप्त ५० लाखको भवनमा प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गरेका हुन् ।

शिलन्यास कार्यक्रममा सांसद थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्न आफुँले गरेको प्रयास सफल भएको बताउँदै पर्यटनको क्षेत्रमा आवश्यक पूर्वाधार ल्याउन सहयोग गर्ने बताए । उनले तातोपानी कुण्ड सहित जिल्लाभित्र घोषित नमुना पर्यटकीय गन्तब्यमा पूर्वाधर विस्तारसँगै प्रचारप्रसारका अभियानलाई समेत तिब्रता दिने बताए । उनले तातोपानी कुण्डमार्फत पर्यटन प्रर्बधनमा ठूलो टेवा पुगेको बताए ।

कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले कुण्डमा भ्रमणका लागि समेत आउन थालेपछि बहुउद्देश्यीय भवनको आवश्यकता रहेकोमा सांसद थापाको पहलले सहज भएको बताए । स्नान गर्ने बिरामीबाहेक जुनसुकै समयमा पनि आउने सर्वसाधारण, पर्यटक, बिरामी तथा स्थानीयलाई लक्षित गरी बनाइएको पोखरीमा अब साँझ ८ बजेसम्म स्नान गर्न पाउने व्यवस्था मिलाउन लागिएको बताउँदै थप आवश्यक पूर्वाधारमा समेत सहयोग गर्न अनुरोध गरेका थिए ।

योगाहल, वैठक कक्ष र तालिम हल बनाइने छ । भवनमा बिरामीलाई योगकक्षा, तालिम तथा आवश्यकता अनुसारका स्वास्थ्य शिविर लगायत विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने सकिने कुण्डका सहसचिव कुमार केसीले जानकारी दिए ।

तातोपानी कुण्ड परिसरमा टिकट काउण्टरको व्यवस्थापन, कुण्डसम्मै सहज यातायातको पहुँच, रिटेनिङ वाल निर्माण, नयाँ पोखरी थप र बगैंचा समेत निर्माण गरिएको बारे सांसद थापाले निरिक्षण गरेका थिए । जमिन मूनिबाट ४८ देखि ५३ डिग्री सेल्सियसको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोबाट उत्पन्न रोगहरु निको हुने जनविश्वास छ ।