गाँजा भाङ खाएर शिवको दर्शन मिल्दैन

0

शिवरात्रिको बेला पशुपतिनाथ या शिवका मन्दिरहरूमा मेला लाग्नु स्वाभाविक हो । देश तथा विदेशका साधुसन्त, श्रद्धालुहरूको मेला लाग्नु र दर्शन गर्नु पनि अन्यथा होइन । आस्था राखेर भक्तिभाव गर्ने यो मेला या उत्सवमा पहिलेदेखि विकृति बढ्दै गएको पनि यथार्थ हो । शिवरात्रि र त्यसभन्दा अघिल्लो दिनदेखि पशुपतिनाथ तथा अन्य शिवका मन्दिरहरूमा पहिलेदेखि साधुसन्त, नागाबाबाहरू आउँथे र बस्थे । कति नागा बाबाहरू निर्वस्त्र हुन्थे । कुनै पनि वस्त्र नभएका नागा बाबाहरू धुनि बाल्थे, जीउभरि खरानी घसेर देवाधि देव महादेव या शिव÷शङ्करको नाउँ लिंदै गाँजा र भाङको स्वाद लिन्थे । कति युवाहरू यही बेला गाँजा र भाङको स्वाद लिएर आनन्द लिन्थे र नसाको मातमा चढ्थे ।

गाँजा र भाङ एक प्रकारको लागूपदार्थ हो । यसले नसाको मात चढ्छ । नसामा मात चढेकै कारण कति ठाउँमा झगडा भएको पाइन्छ । कुनै नागा बाबा सार्वजनिक स्थानमा निर्वस्त्र बसेर शिवको नाउँ लिएपछि शिवको दर्शन मिल्ने होइन । पूजा पाठ र दर्शनको नाउँमा जाँड रक्सी खाएर हो–हल्ला गरेपछि गाँजा, भाङ खाएर झगडा गरेपछि धर्म लाग्ने होइन । यसरी शिवरात्रिको बेला गाँजा, भाङ खाएर अरुलाई पनि बिगार्ने काम गरेको हुँदा पशुपतिनाथ विकास कोषले गाँजा, भाङको सेवनमा निषेध गरेको हो ।

तर त्यो पूर्णतः लागू भएको छैन । अहिले पनि पशुपतिनाथमा निर्वस्त्र नागा बाबाहरूको सहभागिता छ, उनीहरू गाँजा, भाङ खाएर रमिते बनिरहेका छन् । यसको अनुकरण युवा पुस्ताले गर्न थालेको छ । बानी परेपछि यसले युवाहरूको स्वास्थ्यमा असर पु¥याउँछ र गाँजा, भाङ खाने बानी बसेर परिवार, साथी भाइबीच कलहमात्र होइन खानपिन, शिक्षा र स्वास्थ्यमा गर्नुपर्ने खर्च नशालु पदार्थमा भएर समस्या देखिएको छ ।

नयाँ पुस्तामा गलत सन्देश जाने हुँदा पशुपतिनाथ विकास कोष, गुठी संस्थान र सरकारले मन्दिर वरपर या सार्वजनिक स्थानमा गाँजा र भाङ खाने काममा निषेध गर्नुपर्छ । नागा बाबाहरूलाई निर्वस्त्रमा नबस्न आग्रह गर्नुपर्छ । हरेक नागरिकहरू इज्जतपूर्वक बस्नुपर्छ, जिउनुपर्छ । शिवरात्रिको एक दिन भनेर नाङ्गै बस्ने, गाँजा भाङ सेवनमा छुट दिनु बुद्धिमानी होइन । हामीले सन्देश नराम्रो होइन राम्रो काम, राम्रो बानी र संस्कारको दिने हो । संस्कारलाई पनि समयअनुसार परिवर्तन गर्नुपर्ने हुन्छ, चाड पर्व र विधि विधानलाई वैज्ञानिक ढङ्गले अघि बढाउनुपर्छ । नत्र हामी उहिलेकै सत्रौं र अठारौं शताब्दीको घेरामा पर्नेछ । विज्ञान र प्रविधिले दिएको शिक्षा अन्धानुकरण गर्नु होइन । यसबारे सम्बन्धित सबै पक्ष चनाखो हुनुपर्छ ।
–गोपाल नगरकोटी

Leave a Reply