२० लाख विदेशी पर्यटक लक्ष्यसहित सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ मा घुम्न आउने साहसिक पर्यटक लक्षित गर्दै उत्तरी म्याग्दीलाई समेट्ने गरी ‘काली–एक्स’ इभेन्टको तयारी गरेको छ।

म्याग्दी र हिमाली जिल्ला मुस्ताङका विभिन्न भागमा गरिने यो इभेन्ट नेपाल भित्रिएका साहसिक पर्यटकका लागि निकै नै रोमाञ्चक हुने र नौलो कोसेली बन्ने व्यवसायीले बताएका छन्। कालीगण्डकी नदी क्षेत्रमा गरिने ‘काली–एक्स’ इभेन्ट साहसिक पर्यटक लक्षित गतिविधि हो। भ्रमण वर्ष २०२० मा आउने साहसिक पर्यटकका लागि यो निकै आकर्षक हुने सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले बताए ।

सन् २०२० मा मात्र नभई आगामी वर्षमा पनि यो इभेन्टलाई नियमितता दिने हो भने साहसिक पर्यटनबाट लाभ पाउन सकिने उनको भनाई छ । विश्वकै गहिरो गल्छीको पहिचान कमाएको कालीगण्डकी नदीको अन्धगल्छी क्षेत्र आसपासमा हुने यो इभेन्टले नेपालको पर्यटनमा नयाँ सम्भावना उजागर गर्ने ‘काली एक्स’ इभेन्टका परामर्शदाता विश्वराज ज्ञवालीले बताए। आगामि डिसेम्बर १ देखि ६ सम्म यो इभेन्ट आयोजना हुँदैछ। इभेन्टमा साहसिक पर्यटक तान्ने गरी माउन्टेन बाइकका गतिविधि हुनेछन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित संसारकै गहिरो गल्छी क्षेत्रमा नेपाल भ्रमण वर्ष लक्षित माउन्टेन बाइकका गतिविधि गर्दा साहिसक पाहुना तान्न सकिने अनुमान पर्यटन क्षेत्रका जानकारहरुको छ । नेपालको पर्यटन क्षेत्रका लागि अन्धगल्छी नौलो र आकर्षक हुने छ । नजिकै रहेको रुप्से झरनालाई समेत प्रचारप्रसार गर्न सकिने पर्यटन ब्यवसायीको भनाई छ ।

स्वदेशी र विदेशी गरी एक हजारसम्म पाहुनालाई ‘काली एक्स’ इभेन्टमा सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ । मुस्ताङको कागबेनीदेखि म्याग्दीको तातोपानीसम्म झन्डै ६० किलोमिटर क्षेत्रमा इभेन्ट गर्न सकिने अध्ययनले देखाएको छ। तर पहिलो चरणमा कागबेनीदेखि कालापानीसम्मको करिब ४० किलोमिटर दूरीलाई समेटेर आसपासका बस्ती, खोंच, डाँडाकाँडामा यो इभेन्ट हुनेछ।

इभेन्टमा माउन्टेन बाइकसँग सम्बन्धित इन्ड्युरो, क्रसकन्ट्री, कल्चरल ह्विल, मास राइड, साइफोरा नाममा गतिविधि हुनेछन्। माउन्टेन बाइकको इन्ड्युरोमा डाँडाकाँडामा साइक्लिङ हुन्छ। क्रसकन्ट्री निश्चित दूरीको स्पर्धाको रुपमा रहनेछ भने कल्चरल राइड्समा विभिन्न समुदायमा साइक्लिङ चढेर पाहुना पुग्नेछन् र समुदायसँग रमाउनेछन्।

काली–एक्स इभेन्टका लागि यसअघि न विदेशी विज्ञहरू झिकाएर कालीगण्डकी क्षेत्रमा ट्रेल एसेसमेन्ट (पदमार्गको सम्भाव्यता अध्ययन) गरिसकिएको छ। मोटरबाटोलाई आधार मानेर कालीगण्डकी वारिपारिको क्षेत्रको ट्र्याकमा यो इभेन्ट हुनेछ। मोटरबाटो पुगेर मुस्ताङ जाने सडक छोटिएको छ। अहिले पर्यटकहरू धुलो र धुँवाको सामना गर्दै कालिगण्डकी क्षेत्रमा हिँडिरहेका देखिन्छन। ‘काली–एक्स’ इभेन्टमा उत्तरी म्याग्दीलाई समेत प्रमुख आर्कषकको रुपमा लिइएको छ ।