म्याग्दीको सदरमुकाम बेनीमा सहकारीका सञ्चालकलाई एकदिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । तालिममा संस्थागत विकास तथा सुदृढिकरण, काम कर्तब्य र अधिकार, सहकारी ऐन २०७४, सम्पत्ती शुद्धीकरण, सहकारीमा कोषको व्यवस्था, सहकारी र राष्ट्रिय सहकारी बैंकको सम्बन्ध लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य एवम् गण्डकी प्रदेश सहकारी कार्यदलका संयोजक रामबहादुर जिसीले सञ्चालन गर्नुभएको थियो ।

उहाँले म्याग्दीमा सहकारी बैंकको शाखा वा सेवाकेन्द्र ल्याउने प्रयास भइरहेको बताउनुभयो । राष्ट्रिय सहकारी बैंक बागलुङको आयोजनामा म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा सञ्चालित सहकारीका ४२ जना सञ्चालकहरुको सहभागीता रहेको थियो । तालिकको समापनको अवसरमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज पौडेल, लोकदिप बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठले सहभागीको तर्फबाट मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रबन्धक यूवराज त्रिपाटीले गर्नुभएको थियो । सहकारी संस्थाका सञ्चालक, ब्यवस्थापन तथा सेयर सदस्यलाई राष्ट्रिय सहकारी बैंकमार्फत बेलाबेलामा तालिम तथा आवश्यक वित्तिय शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।