कामको चाप र आवश्यक आराम नपुग्दा थकित मंगला गाउँपालिका–२, हिदीका विजय पुनले एकबर्ष यता फुर्सद मिलाएर नेपालीहरुको विवाह लगायतका कार्यक्रमहरुमा कर्नाल फुक्छन् । बैदेशिक रोजगारको सिलसिलामा अष्ट्रेलिया पुगेका पुनले नौमति बाजाको बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई साह्रै मोटो आवाजका लागि फुकेर बजाउँछन् ।उनीसँगै कुहुँका हेमन्त पुनले नरसिङ्गा, भर्जुलाका यमन जुग्जाली र उत्तरी म्यागदीको दोवाका मिलन गर्बुजाले सहनाई, हिदीका दिपक पुनले ढोलक, वाखेकका तेजिन्द्र थापाले ट्याम्को, थाईवाङका हरी रन्तिजाले दमाह, बावियाचौरका भुपेन्द्र पुनले झ्याली र बरंजाका फन रोकाले आवश्यकता अनुसार सहयोग गर्छन् । आफ्नै गाउँठाउँमा बजाईने नौमति बाजालाई अष्ट्रेलियामा पु¥याएका यूवाहरूले नेपाली बाजाको संरक्षणका साथै नेपालीले आयोजना गर्ने ब्यक्तिगत तथा अन्य सार्वजनिक कार्यक्रममा नौमति बाजा धन्काउन थालेका छन्। आफ्नै जातिको पोशाकमा सजिएर बाजा बाजाउन थालेपछि सबै आर्कषित हुने गरेका छन् । धौलागिरी नौमति बाजा समुहको स्थापना गरी एकबर्षमा विभिन्न कार्यक्रमहरुमा सहभागी भएको टिम म्यानेजर समेत रहेका विजय पुनले बताए । ‘हाम्रो मौलिकता यसमा जोडिएको छ,‘विदेशी बाजालाई विस्थापित गर्न नभई आफ्नौ मौलिकतालाई प्रस्तुत गर्ने प्रयास गरेका छौ’ पुनले बेनीअनलाइनलाई भने । उनले नौवटा बाजाहरुमार्फत यहाँ रहेका म्याग्देलीहरुको कार्यक्रमलाई प्राथमिकता दिएर सहभागी हुने गरेको बताए । पञ्चे र नौमति बाजामा विस्तारै अनुभब बटुल्दै गएका यूवाहरुले समुहमार्फत हुने आम्दानीलाई संस्थागत तथा सामुदायिक हितमा समेत प्रयोग गर्ने बताए । ‘बाजाले म्याग्देलीलाई जोड्ने प्रयास गरिएको छ,‘आफ्नै गाउँठाउँमा पुगेजस्तो हुन्छ’ मोना अष्ट्रेलियाका सदस्य हिक्मत श्रेष्ठले भने ।

उनले दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजाले अष्ट्रेलियामा लामो समय विताएकाहरुलाई गाउँघरको सम्झना र नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिको बारेमा जानकारी दिन सहज हुने बताए । मोना अष्ट्रेलियाले आफ्ना कार्यक्रमहरुमा समुहमार्फत बाजालाई प्राथमिकता दिने जनाएको छ । सुर र ताल मिलाएर एकैपटक बजाउने बाजाले अष्ट्रेलियामा छोटो समयमै लोकप्रियता कमाएको छ । हरिकृष्ण गौतम